बझाङमा पहिरोमा पुरिएका चार जनाको शव भेटियो (अपडेट)

असार २०, २०७७ | बझाङ

बझाङको केदारस्युँ गाउँपालिकाको मल्लेसीमा पहिरोमा पुरिएका चार जनाको शव फेला परेको छ । तीन जना अझै बेपत्ता छन् । 

दुर्गाथली गाउँपालिकाको बिसौनाबाट उद्धारका लागि गएको प्रहरी टोली र स्थानीयले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।

पहिरोमा पुरिएको अवस्थामा ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयागको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले बताउनुभयो । 

राम–मतीकी १६ वर्षीया छोरी अस्मिता जेठारा अझै बेपत्ता छिन् ।

यस्तै, पहिरोमा पुरिएका ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिनुभयो । १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा अझै बेपत्ता छन् ।

उनीहरुको खोजीकार्य जारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो । 

पहिरोले बाटो बगाएका कारण उद्धार टोली त्यहाँ पुग्न समय लागेको हो । सडक अवरुद्ध हुँदा उद्धारका लागि हिँडेको नेपाली सेनाको टोली अझै घटनास्थल पुग्न सकेको छैन ।

कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुई वटा टोली फरक फरक बाटो भएर त्यहाँ जाने प्रयासरत रहेको सेनाका मेजर तारा खड्काले बताउनुभयो । 

सेनाको एउटा टोली केदारस्युँको जुलीगाडबाट अर्काे टोली बुङ्गल नगरपालिकाको काँडाचौरबाट घटनास्थल तर्फ गईरहेको र केही बेरमै त्यहाँ पुग्ने खड्काले बताउनुभयो । 

 शनिबार मध्यरातमा गएको पहिरोले मल्लेसीका १८ घर बगाएको छ भने दुई वटा घरमा क्षति पुगेको छ । यसैबीच, पहिरो पीडितको उद्धारमा हिँडेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । 

जयपृथ्वी राजमार्ग गाडी असन्तुलित भएर नालीमा खसेको र तीन जना सैनिक सामान्य घाइते भएको मेजर खड्काले जानकारी दिनुभयो । 

घाइते तीनै जनाको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि व्यारेक फर्किएको उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार :

बझाङमा पहिरोमा पुरिएका दुईको शव भेटियो (अपडेट)


प्रतिक्रिया