बझाङमा पहिरोमा पुरिएका दुईको शव भेटियो (अपडेट)

असार २०, २०७७ | बझाङ

बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । सात जना अझै बेपत्ता छन् । १८ घर बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । 

यद्यपि, घटना स्थलमा उद्धार टोली अझै पुग्न सकेको छैन । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना स्थानीय भने सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानीय लोकेन्द्र विकले बताए । 

अहिले स्थानीयले पहिरोमा बेपत्ता भएकाहरुको खोजी भईरहेको उनले जानकारी दिए । यो गाउँमा ४० परिवारको बसोबास रहेको छ । 

जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल जाँदै गरेको प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डे जानकारी दिनुभयो । 

मल्लेसी जाने बाटो खोला किनार भएर जानु पर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको हो । 

पहिरोले त्यो गाउँ जाने बाटो समेत बगाएकाले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिनुभयो । 

यद्यपि उद्धार टोलीलाई घटनास्थल पुग्नका लागि अझै केही समय लाग्ने उहाँले बताउनुभयो । 

घटना स्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहाँ हेलिकप्टर आवश्यक भए/नभएको यकीन गरेपछि मात्रै उडनका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार :

बझाङमा पहिरोले १७ वटा घर बगायो


प्रतिक्रिया