मुख्य नाका वीरगञ्जको प्रवेशद्धारमा ३० फिट अग्लो राष्ट्रिय झण्डा

श्रावण ९, २०७७ | वीरगञ्ज
– मुख्य नाका वीरगञ्जको प्रवेशद्धारमा ३० फिट अग्लो राष्ट्रिय झण्डा सहितको फ्लेग टावर निर्माण गरिएकोछ । पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदीप यादवले संसदीय विकास कोषबाट मुलुकको मुख्य नाकामा नेपालको राष्ट्रिय झण्डा सहितको फ्लेग टावर निर्माण गराउनु भएको हो । एक सय दश फिट उचाई रहेको टावरमा ३० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
वीरगञ्जको शंकराचार्य द्धार अगाडि १३ लाख ६२ हजार रुपैयाँमा निर्माण गरिएको झण्डा सहितको फ्लेग टावर सांसद यादवले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । संसदीय पूर्वाधार विकास कोषबाट १० लाख र बाँकी अपुग रकम आफ्नो तलब भत्ताको रकमबाट फ्लेग टावरको निर्माण गरिएको सांसद यादवले बताउनुभयो ।
मुलुकको मूख्य प्रवेशद्धारमा राष्ट्रको गौरव र सम्पूर्ण नेपालीको पहिचान झल्कने राष्ट्रिय झन्डा स्थापना गरेर गर्वको अनुभूति भएको उहाँले बताउनुभयो । उहाँका अनुसार खुल्ला सीमाका कारण वीरगञ्ज र रक्सौललाई छुट्याउन नसक्ने नेपाल प्रवेश गर्ने भारतीय र अन्य विदेशीलाई आफू नेपालमा प्रदेश गरेको अनुभूति यो राष्ट्रिय झन्डाले दिने छ ।