पहिरोले थुनिएको गोरखाको नौली खोलाको पानी बग्न थाल्यो

पहिरोले थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ को नौली खोला । तस्बिर सौजन्य : वीरबल गुरुङ । 

श्रावण १०, २०७७ | गोरखा

शक्रबारराति देखि थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ स्थित नौली खोलामा पानी बग्न थालेको छ । थुनिएको तालको पानी केहिबेर अघिबाट बग्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले बताए । उनका अनुसार ताल नाघेर पानी बगेको हो । उनले भने, ‘साइड–साइडबाट पनि खोतल्दै जमेको पानी बग्न थाल्यो ।’

धार्चे गाउँपालिका–७ लापुस्थित नौलीखोला गएराति ११ बजेबाट थुनिएपछि स्थानीय त्रसिद बनेका थिए । लापुस्थित मापुडाडाँमा पहिरो सँगै बगेको ठूला ढुङ्गाले नौली खोला थुनिएको हो । अझै साविकको अवस्थामा पानी भने नबगेको स्थानीय बताउँछन् । 

‘ढुङगा र माटोले खोला थुनेको हो, अहिले माटो खोतल्दै खोला बग्न थालेको छ,’ स्थानीय सरोज गुरुङले भने,‘ नौली खोलाको झरनामा पनि धमिलो भएर पानी बग्न थालेकाले जोखिम धेरै हट्यो, मन पनि शान्त भएको छ ।’ पानी जमेपछि नौली खोलाको झरना आसपासका एक दर्जन घरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।

माछाखोला प्रहरी चौकीबाट टोली खटाएर घटना बारे बुझेको उहाँले बताउनुभयो । अहिले पानी बगेपछि जोखिम घटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पहिरो गएको ठाउँमा ठूला–ठूला ढुङ्गाले खोला थुनेको रहेछ, तत्काल त्यो फुट्ने अवस्था पनि छैन ।’ नौली खोला बुढीगण्डकीको सहायक नदी हो । उक्त खोला थुनिएपछि शनिबार बिहान तल्लो तटीय क्षेत्रका स्थानीयलाई सजक रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो ।

सम्बन्धित समाचार :
* पहिरोले गोरखाको धार्चेस्थित नौली खोला थुनियो


प्रतिक्रिया