दाउरा छोप्न गएका बाबुछोरी नारायणीमा बेपत्ता

आश्विन २, २०७७ | नवलपरासी

पूर्वी नवलपरासीको तत्लो भिउरान गाउँका दुई जना नारायणी नदीमा दाउरा छोप्न जाँदा बेपत्ता भएका छन ।

शुक्रवार साँझ मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ र १५ को सिमानामा पर्ने अरुणखोलाको पुछारमा नारायणी नदीले बगाएर ल्याउने दाउरा टिप्न जाँदा बाबु छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । आमालाई भने स्थानीयले उद्धार गरेका छन् ।

नारायणी नदी र अरुणखोला खोला मिसिने दोभानमा उनीहरु दाउरा टिप्न गएका थिए । डिएसपी मोहन खाँणका अनुसार दाउरा छोप्न जाँदा मध्यबिन्दु नगरपालिका १५ तल्लो भिउरान बस्ने भूपलाल क्षेत्री र उनकी १४ वर्षकी छोरी सुजिता क्षेत्रीलाई नदीले बगाएको हो । प्रहरीले उनीहरुको खोजी सुरु गरेको छ ।

वर्षादको भेलमा यहाँका खोलानाला र नारायणी नदीमा बगेका दाउरा खोजेर जोहो गर्ने चलन छ । उर्लदो भेल र टेक्ने चिप्लो सतहको जानकारी नहुँदा उनीहरु बगेको आसंका स्थानीयको छ । 


प्रतिक्रिया