चीनले सीमा अतिक्रमण गर्दा पनि सरकार मुखदर्शक : कांग्रेस नेता शाही

आश्विन २६, २०७७ | हुम्ला

लिमीको ललोङजोङ्गमा नेपाली भूमिमा चिनियाँ पक्षले सीमा मिचेर भौतिक संरचना बनाएको समाचार आइरहेका बेला नेपाल सरकारले भने हुम्लाको लिमीमा चीनले भूमि अतिक्रमण नगरेको बताएको छ । 

अहिलेसम्म असल छिमेकीका रुपमा हेरिएको चीनले नेपाली सीमा अतिक्रमण गरी चीनले नेपालमाथि विस्तारवाद लागू गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशको संसदीय दलका नेता जीवनबहादुर शाहीले बताउनुभयो । सीमा अवलोकन पछि सदरमुकाम सिमकोटमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री समेत रहेका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको पाइएको आरोप लगाउनुभयो । 

चीनले लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको, ९ (२) नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घरवार हालेको ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अवस्था नभएको, ६ ( १), ५ (१) र ५ (२) नम्बर पिलरलाई आफ्नोतिर पारि नेपाली भूमिमा तारबार गरेको भेटिएको नेता शाहीले बताउनुभयो । सधैं दक्षिण तिर भारतले नेपाली सीमा मिचेको भन्ने सुनिन्थ्यो । 

पछिल्लो समय हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गर्दै सीमा क्षेत्रमा विस्तारवाद लागू गरेको उहाँले आरोप लगाउनुभयो । नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता शाहीले सीमा क्षेत्र हिल्सामा रहँदै आएका नेपाली सुरक्षाकर्मीलाई पिलरको अनुगमन गर्न जाने क्रममा ढुङ्गाले हानेर सीमा स्तम्भ स्थलतिर जान नदिएर अभद्र व्यवहार गरेको बताउनुभयो । 

असोज १४ गते सिमकोटबाट सीमा अवलोकनका लागि गएका नेता शाहीले नेपाली भूमि नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि चिनियाँ पक्षले बनाएका घरहरु नेपाली भू–भागमै पर्ने दाबी गर्दै सरकारले दुबै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा तत्काल अध्ययन तथा अनुगमन गर्नुपर्ने माग गर्नुभयो । 

अहिले सीमा क्षेत्रमा रहेका पिलरको अवलोकन गर्दा चीनले औंला मागेर हत्केला निल्ने नीति अवलम्बन गरेको र सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेको पाइएकाले उहाँले आरोप लगाउनुभयो । पहिले पिलरलाई घेरबार गर्ने पछि नेपाली पक्षको उपस्थिति नहुने देखिएपछि त्यसलाई आफूखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेको समेत उहाँले बताउनुभयो । 

सीमा अवालेकनपछि आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीसँगै प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली कांग्रेसका सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुलाई पनि हस्तान्तरण गर्ने नेता शाहीले बताउनुभयो । 

देश नै नरहे हामी कोही पनि नरहने स्पष्ट पार्दै नेता शाहीले यो आवाजलाई सधैं उठाइ रहने प्रतिबद्धता जनाउँदै उत्तर–दक्षिण समान मित्र हुन अन्याय गर्ने जो कोहीविरुद्ध डर नमानी सबैलाई लाग्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चीनले हाम्रो भूमि अतिक्रमण गरेको छ । अहिले भवनहरू भनेको भन्दा २–३ किलोमिटर चीनतर्फ २०६६ सालमा हामीले सडक बनाएका थियौं । त्यतिबेला साविक लिमी गाविस र स्नोल्याण्ड एकीकृत विकास केन्द्र नामक संस्थाको संयुक्त पहलमा सडक बनेको थियो ।’


प्रतिक्रिया