नरवणेको नेपाल भ्रमण परम्पराको निरन्तरता : नेपाली सेना

कार्तिक १६, २०७७ | काठमाडौं

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउँदै हुनुहुन्छ । 

नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो । नरवणेको नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम तय भएको छैन । 

दोस्रो दिन बिहीबार भने नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने र सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक गारत निरीक्षण गर्नुहुने नेपाली सेनाले जनाएको छ । सोही दिन प्रधानसेनापति थापाले समकक्षी नरवणेसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । 

यस्तै, सेनाका पीएसओज र रथीसँग भेटघाट र छलफलको कार्यक्रम पनि तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित सामग्री हस्तान्तरण कार्यक्रम छ । 

सोही दिन नै राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ । लगतै राष्ट्रपति भण्डारीसँग नरवणेको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नरवणे सोही दिन जङ्गी अड्डामा आयोजना हुने रात्री भोजमा समेत सहभागी हुनुहुनेछ । भ्रमणको तेस्रो दिन शुक्रबार नरवणे शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्रिया गर्नुहुनेछ । 

सोहीदिन रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नरवणेको औपचारिक भेटवार्ता हुनेछ । र, सोही दिन तीन दिने भ्रमण पूरा गरी नरवणे नेतृत्वको ४ सदस्यीय टोली स्वदेश फर्कनेछ ।


प्रतिक्रिया