सामाजिक अभियान्ता गौचनको निधन

कार्तिक २६, २०७७ | बागलुङ

हातैले लेखेर विसं २००८ सालमा ‘सही बाटो’ नामको पत्रिका प्रकाशित गरेका सामाजिक अभियान्ताको ओमकार प्रसाद गौचनको निधन भएको छ । पूर्व सहायक मन्त्री समेत रहेका बागलुङको बागलुङ नगरपालिका–३ का निवासी गौचनको ८५ वर्षको उमेरमा बुधबार निधन भएको हो । 

जिल्लाको पत्रकारिताको इतिहासमा गौचनले हातैले लेखेको पत्रिकानै पहिलो भएको रेकर्ड छ । काठमाडौंमा घरमा लडेर घाइते उहाँको उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ । १९८५ सालमा गौचनका बाबु ओमप्रसाद मुस्ताङबाट बागलुङ झरेका थिए । 

व्यापारका लागि झरेका गौचनले बागलुङमा शिक्षा र सामाजिक जागरण ल्याएको इतिहास छ । बाबुको अभियानकै क्रममा छोरा ओमकार प्रसाद गौतमले पनि शिक्षाको विकासमा लगानी गरेको स्थानीय देवबहादुर श्रेष्ठले बताए । 

वीपी कोइरालाले २०१५ सालमा उम्मेदवार बनाउन खोज्दा आलोकाँचो छु भनेर पन्छिएका गौचन २०३६ सालमा खाद्य, कृषि तथा सञ्चार राज्यमन्त्री भएका थिए । उहाँकै पालादेखि सामाजिक व्यक्तिलाई टेलिफोन लाइन वितरणको थालनी भएको थियो । 

गौचनका बाबुले १९९७ सालमा विद्या मन्दिर माध्यामिक विद्यालय र विद्या मन्दिर पुस्तकालय स्थापना गरेका थिए । दुबै संस्थाको पूर्वाधार विकासमा उहाँले लाखौं सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताउनुभयो । 

२०१६ सालमा पहिलो पटक विद्या मन्दिरमा एसएलसी दिएका लालचन्द्र राजभण्डारी भन्छन्, ‘त्यतिबेलाको शिक्षाको विकासमा गौचनका बाबु छोराले ठूलो लगानी गरेका थिए ।’ गौचनका एक छोरा छन् ।


प्रतिक्रिया