रगत नपाउँदा संखुवासभामा सुत्केरीको मृत्यु

वैशाख २८, २०७८

रगत नपाएर संखुवासभाको सिलिचो गाउँपालिका–३ मा एक जना सुत्केरीले ज्यान गुमाएकी छन् । अत्यधिक रक्तश्राव भएपछि २६ वर्षीया सिर्जना कुलुङको मृत्यु भएको हो । उपचारका लागि खाँदबारी ल्याउने क्रममा उनको गएराति बाटोमै मृत्यु भएको सिलिचो गाउँपालिकाको वडा नम्बर–३ का वडाध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो । 

सुत्केरी बेथा लागेपछि कुलुङलाई हिजो ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै सिर्जनाले बच्चा जन्माएकी थिइन् । तर, बच्चा जन्मिएको केही समयपछि सिर्जनाको रक्तश्राव हुन थाल्यो । 

अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी रिफर गरिएको थियो । बच्चाको स्वास्थ्य भने अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. भारती पण्डितले बताउनुभयो । 

उहाँका अनुसार साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान भनिएको थियो । सिर्जनालाई तत्काल रगत चाहिने भएपनि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया