रिफिलिङ्ग प्लान्ट नहुँदा उत्पादित अक्सिजन प्रयोगविहीन

जेष्ठ १५, २०७८ | सिरहा

कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढ्दो छ । कतिपय कोरोना संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । तर, त्यही जीवन दान गर्ने अक्सिजन भने सिरहा अस्पतालमा उपयोग हुन सकेको छैन । 

रिफिलिङ्ग प्लान्टको अभावमा सिरहामा उत्पादित अक्सिजन प्रयोगविहीन भएको छ । मुलुकभर हाहाकार भईरहेका बेला जिल्ला अस्पतालमा दुई वटा र लहानस्थित राम–कुमार, उमा–प्रसाद स्मारक अस्पतालमा एउटा प्लान्टबाट उत्पादित अक्सिजन भने प्रयोगविहीन भएको हो । 

सदरमुकाम सिरहा बजारस्थित जिल्ला अस्पताल र लहानस्थित राम–कुमार, उमा–प्रसाद स्मारक अस्पतालमा अक्सिजन आपूर्तिका लागि प्लान्ट स्थापना गरिएको थियो । तर, सरकारी अस्पतालमा रहेका प्लान्टसँगै जडान हुनुपर्ने रिफिलिङ्ग प्लान्ट नहुँदा जिल्लाका अन्य अस्पताल तथा होम आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई अक्सिजन आपूर्ति हुन सकेको छैन । 

जिल्ला अस्पतालको दुई वटा प्लान्टबाट दैनिक १ हजार ६ सय ५६ लिटर अक्सिजन उत्पादन भईरहेको छ । सोही अनुपातमा लहानस्थित अस्पतालबाट समेत अक्सिजन उत्पादन भईरहेको छ । दुबै स्थानमा अक्सिजन प्लान्टसँगै जडान हुनुपर्ने रिफिलिङ्ग प्लान्ट नहुँदा उत्पादित अक्सिजन प्रयोगविहीन बनेको हो । 

दुबै अस्पतालभित्र रिफिलिङ्ग प्लान्ट नभएपनि पाइपलाइनबाटै कोरोना संक्रमितलाई अक्सिजन आपूर्ति भइरहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.नागेन्द्र यादवले बताउनुभयो । 

‘अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन सिधै टंकीमा भण्डारण हुन्छ र सोही टंंकीबाट पाइपलाइन मार्फत बिरामी रहेको बेडमा आपूर्ति हुन्छ’, यादवले भन्नुभयो, ‘यो प्रणाली एकदमै झण्झटिलो छ, रिफिलिङ्ग प्लान्ट भएको भए टंकीमा रहेको अक्सिजन सिधै सिलिण्डरमा हालेर सेवाग्राही समक्ष पुर्‍याउन सकिन्थ्यो ।’

डा. यादवका अनुसार, सिरहा अस्पतालमा रहेका दुई वटा प्लान्टबाट ६४ वटा र लहान अस्पतालमा रहेको एउटा प्लान्टबाट ३० वटा कोभिड बेडमा अक्सिजन आपूर्ति भइरहेको छ । पाइपलाइनको व्यवस्था नभएका कारण ती दुबै अस्पतालमा रहेका गैर कोभिड बेडमा डिलरसँगै खरिद गरेर ल्याइएको सिलिण्डरबाट अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । 

रिफिलिङ्गको समस्याका कारण सरकारी अस्पतालले गैरकोभिड बेडमा समेत खपत हुने अक्सिजन खरिद गर्नुपर्ने बाध्यता छ । सरकारी अस्पताल बाहेक जिल्लाका अन्य अस्पतालका बिरामीहरुले समेत अक्सिजन प्रयोग गरेवापत महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । 

यो समस्याको समाधानका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रदेश २ सरकारसँग हार गुहार नगरेको पनि होइन तर सरकारबाट ठोस जवाफ आउन सकेन । डीसीसीएमसी सिरहाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जिल्ला अस्पतालको दुई वटा प्लान्टबाट उत्पादन भएको अक्सिजन सिलिण्डरमा भर्न रिफिलिङ्ग प्लान्टका लागि टेण्डर आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । 

सिरहा अस्पतालको अक्सिजन प्लान्टबाट केही दिनमा नै अक्सिजन रिफिलिङ्ग गर्ने कार्य सुरु हुने उहाँले बताउनुभयो । ‘लहान अस्पतालको लागि भने बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गरिसकेका छौं’, उहाँले भन्नुभयो, ‘लहानको लागि अहिलेसम्म प्रदेश सरकारकै आशमा छौं, हेरौं के हुन्छ । भएन भने अन्य स्रोत पनि खोज्नुपर्ला जस्तो छ ।’


प्रतिक्रिया