दाङका कानून व्यवसायीद्वारा अत्यावश्यक बाहेकका काम बन्द

असार ११, २०७८ | दाङ

कोरोना विरुद्ध खोपको व्यवस्था नहुँदासम्म काम गर्न नसक्ने भन्दै दाङका कानून व्यवसायीले अत्यावश्यक बाहेकका काम बन्द गरेका छन् । न्याय सम्पादनको अग्रपंक्तिमा खटिने कानून व्यवसायी प्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका छन् । 

उच्च अदालत तुलसीपुरले जेठ १० मा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रलाई कानून व्यवसायीलाई खोपको व्यवस्था गर्न परामादेश दिए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । 

उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार इकाई दाङका अध्यक्ष शिव प्रसाद घिमिरेले संयुक्त रुपमा विज्ञप्ति जारी गरी जिल्लामा बन्दाबन्दी कायम रहने समयसम्म उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दी प्रत्यक्षिकरण, थुनछेक र कोरोना सम्बन्धी मुद्दा बाहेक अन्य मुद्दामा काम गर्न नसकिने बताएका छन् ।  


प्रतिक्रिया