कोशी राजमार्गको छ्याङुटी सडकखण्ड बन्द

श्रावण २४, २०७८ | संखुवासभा

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको चिचिला गाउँपालिका क्षेत्रको सडक बन्द गरिएको छ । गाउँपालिकाले सडक बिग्रेको र मर्मतमा सम्बन्धित निकायले वास्ता नगरेको भन्दै सडक बन्द गर्दै यातायात सेवा ठप्प पारेको हो । 

गाउँपालिका क्षेत्रमा पर्ने छ्याङुटी–चिचिला–देउराली सडकखण्डमा बर्खायाममा बर्सेनि सवारी साधन आवतजावतमा समस्या हुने गरेको गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । अरुण–३ लगायत ठूला आयोजनाका सवारी साधनका कारण सडक भत्किएको भन्दै गाउँपालिकाले विभिन्न निकायमा अनुरोध गर्दा पनि वेवास्ता भएको अध्यक्ष शेर्पाले बताउनुभयो । 

सडक मर्मतका लागि विभिन्न निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरेका कारण गाउँपालिकाले सूचना सार्वजनिक गर्दै आजबाट सडक बन्द गरेको हो । अरुण तेस्रो आयोजनाका ठूला सवारी साधनहरु बिग्रेर सडकमा अलपत्र पार्किङ गरेका कारण सडकको कुलो, ड्रेनहरु भत्किएको र स्थानीयले सास्ती भोग्नु परेको उहाँको भनाई छ । 

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, अनरुण तेस्रो निर्माण कम्पनी एसएपीडीसी, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, उत्तर लक्षिण कोशी सडक आयोजना लगायत कार्यालयमा सडकको अवस्था बारे जानकारी गराएको थियो । 

सडकलाई सहज बनाउन गाउँपालिकाले आवश्यक समन्वय गर्ने समेत जनाउँदै बिग्रेको ठाउँमा मर्मत गर्न अनुरोध गरेको थियो । गाउँपालिकाको अनुरोधलाई बेवास्ता गरेकाले सडक मर्मत नभएसम्म गाउँपालिका क्षेत्रभित्र ठूला सवारीसाधन आवतजावत बन्द गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । 


प्रतिक्रिया