बर्दियामा बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी

पुस १७, २०७८ | बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएको छ । १८ दिन अघिबाट सुरु भएको बाघ गणनामा राखिएको एक थान ट्रयापिङ्ग क्यामेरा चोरी भएको छ । 

चोरी गर्नेलाई पक्राउ गर्न सजिलो होस भन्दै ठाउँको नाम उल्लेख गर्न नमिल्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो । क्यामेरा चोरी गर्ने व्यक्ति पत्ता लगाउन स्काई क्यामेरा समेत प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । 

क्यामेरा चोरी भएपछि सुरक्षाको व्यवस्था कडा पारिएको छ । निकुञ्ज आसपासका साथै बाँके र बर्दियामा एकै साथ बाघ गणना भईरहेको छ । बाघ गणनामा सात सय वटा ग्रीडमा ७ सय २० वटा स्वचालित क्यामेरा राखिएको छ । 

एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्राप राखिएको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र आसपासका जंगलमा बाघको गणना भईरहेको छ । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल रहेको बर्दिया निकुञ्जको चुरे पहाडको बबई उपत्यका बाघको बासस्थान बन्दै गएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियञ्त्रण युवा अभियानबाट संयुक्त रुपमा प्राविधिक टोलीले क्यामेरा ट्रापिङ्गको सहयोगमा गणना गरिएको छ । 

निकुञ्ज बाहेक खाता जैविक मार्ग, आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाट बाघको गणना भईरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया