नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, १० विद्यार्थी नेता घाइते

नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थीहरुले सोमबार सिटी जुलुस प्रदर्शन गर्दै । तस्बिर : देवनारायण साह/रेडियो कान्तिपुर । 

माघ १०, २०७८ | मोरङ

विराटनगरस्थित नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र कलेजको विरुद्धमा आन्दोलनरत विद्यार्थीबीच झडप भएको छ । एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थी र कलेजका सुरक्षा गार्डबीच झडप हुँदा १० जना विद्यार्थी नेताहरु घाइते भएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन मोरङको सहयोगमा पीडित विद्यार्थीहरुले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै सोमबार सिटी जुलुस प्रदर्शन गरेका थिए । 

जुलुस प्रदर्शन गर्ने क्रममा आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेको कलेज प्रशासनमा कर्मचारीले काम गरिरहेको, भारतीय, छात्रवृति र अतिरिक्त शुल्क तिरेका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अवरोध गर्न पुगेका थिए । 

आन्दोलनरत विद्यार्थीहरुले कलेज प्रशासनमा लगाइएको तालाबन्दीको अवस्था हेर्न जाने क्रममा कलेजका सुरक्षा गार्डले आक्रमण गर्दा १० जना विद्यार्थी नेताहरु घाइते भएका छन् । 

समाजवादी विद्यार्थी यूनियनका साहिल झा, अखिल क्रान्तिकारीका टेकेन क्षेत्री, उमेश सेन्चुरी लगायत विद्यार्थी नेताहरु घाइते भएको अनेरास्ववियुका नविन पहाडीले बताउनुभयो । सुरक्षा गार्डहरुले विद्यार्थीहरुलाई भाटाले प्रहार गर्दा टाउँको फुटेको, आखाँ, हातखुट्टामा चोट लागेको पीडित विद्यार्थीहरुले गुनासो पोखे ।

सुरक्षा गार्डको आक्रमणबाट जोगिदै कलेज प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुले भित्र कर्मचारीले नर्सिङ डिपाटैमेन्टबाट पसेर काम गरिरहेको देखेपछि तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रशासन फाँटको दुई वटा कम्प्युटर, प्रिन्टर, झ्याल, ढोकाको सिसा फुटाएको कलेज प्रशासनले जनाएको छ । विद्यार्थी र सुरक्षा गाडीबीच भएको झडपको क्रममा नोबेल अस्पतालको औषधि पसलमा समेत तोडफोड भएको छ ।

विद्यार्थीमाथि सुरक्षा गार्डले आक्रमण गरिरहँदा सुरक्षाकर्मीहरु मुक दर्शक बनेका थिए । सुरक्षाकर्मीको व्यवहारले स्थानीय प्रशासनले नोबेल मेडिकल कलेजलाई संरक्षण गरिरहेको अनुभूति भएको आन्दोलनरत विद्यार्थीहरुले गुनासो पोखे ।

‘एकातिर कलेज प्रशासनले विद्यार्थीहरुका अभिभावकलाई डर, त्रास देखाएर अतिरिक्त शुल्क असूली गरी विद्यार्थी भर्ना गरिरहेको र अर्कोतिर स्थानीय प्रशासन लगायत सरकार वार्ता, छलफलका साथै कारबाहीका लागि एक अर्को निकायलाई पत्राचार गरेको देखाइरहेको छ,’ विद्यार्थी नेता पहाडीले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगले गरेको निर्णय विपरीत नोबेलले अतिरिक्त शुल्क असूली गरिरहँदा पनि राज्य मौन रहेकाले अब शान्तिपूर्ण आन्दोलनको औचित्य समाप्त भएको छ ।’ अब नोबेलविरुद्ध तोडफोडमा उत्रिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न आइतबार निर्देशन दिनु भएको थियो । 

प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान सुरु गरेको छ ।

कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । 

पठन पाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पिडित विद्यार्थीहरुले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनशन बस्दै आएका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।


प्रतिक्रिया