भारत–पाकिस्तानबीच तनावः शान्ति कायम गर्न अनुरोध गरेको प्रधानमन्त्री ओलीको भनाइ

वैशाख २९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको बताउनु भएको छ । २५६९ औं बुद्ध जयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि शान्ति कायम गर्न अनुरोध गरेको उल्लेख गर्नुभयो । बुद्ध शिक्षाको महत्त्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले हरेक वर्ष लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हलको अभाव देखेपछि आफूले पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेपनि बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गर्नुभयो । अगाडि दर्शकले केही नसुन्ने हल बनेको भन्दै उहाँले एक वर्ष हलमा अतिरिक्त निर्माण गरेर भएपनि बोलेको सुनिने बनाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभयो ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययनका साथै चिन्तन–मननको केन्द्र बनाउन प्रतिबद्व रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध दर्शनको महत्त्व दिन प्रतिदिन बढिरहेको बताउनुभयो ।
गौतम बुद्धको २५६९ औँ जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ । बुद्धजयन्तीको विशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।