सहमतिका आधारमा संविधान संशोधन अघि बढ्छः प्रधानमन्त्री ओली

वैशाख २८, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा विकास निर्माणमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै जाने नयाँ प्रस्ताव लगायत विषय समेटिएको बताउनुभएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विकासको ढाँचा र संस्कृति फेर्ने गरी सरकारले कार्यक्रमहरु ल्याएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभयो । राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका लागि सहमतिका आधारमा काम गरिने उहाँको भनाइ थियो ।

यसैबीच, प्रधानमन्त्री ओलीले संविधान विरोधी शक्तिको प्रतिवाद गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको बताउनुभएको छ । प्रतिगामी कदमविरुद्ध सरकार दृढ रहने उहाँको भनाइ थियो ।

दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएपछि अब संसदमा प्रिबजेट छलफल शुरु हुनेछ । यसैक्रममा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने प्रस्ताव दुवै सदनमा राख्नुभएको छ । सरकारले आगामी जेठ १५ गते नयाँ बजेट ल्याउँदैछ ।  


प्रतिक्रिया