६ वर्षअघि भूकम्पले चिरिएको विद्यालय पुनर्निर्माणको पर्खाइमा

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माविको जीर्ण भवन । यो भवन भूकम्पले समेत चर्काएको छ । तस्बिर : प्रकाश बराल/रेडियो कान्तिपुर । 

माघ १५, २०७८ | बागलुङ

गत २०७२ सालको भूकम्पले भवन चिरिएको थियो । त्यसैले पुनर्निर्माणका लागि कागजात बनाएर पेश भयो । तर, यो भवन पुनर्निर्माणका लागि कुनै योजनामा सूचीकृत भएन । जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माविमा अहिले पनि बालबालिका जोखिम मोलेर पढ्दै छन् । 

भवन निर्माणका लागि सबै कागजात पेश गरेपनि प्राधिकरणको बागलुङस्थित शिक्षा हेर्ने कार्यालयले सबै कागजात हराइदिएपछि योजनामा पर्न नसकेको प्रधानाध्यापक यम शर्मा पौडेलले बताउनुभयो । 

‘हामीले सबै कागजात बनाएर पठायौँ, पछि उतैबाट कागजात हराएर सूचीकृत पनि गरिएन,’ उहाँले भन्नुभयो, ‘त्यसपछि पटकपटक ताकेता गरेर पनि योजनामा पार्न सकिएन ।’ दर्ता नम्बर र कागजका फोटोकपी अझै विद्यालयमा सुरक्षित रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । 

२०३१ सालमा स्थापना भएर २०४१ सालमा बनाइएको यो भवन अहिले जीर्ण भईसकेको छ । कक्षा कोठा साना, होचा र जोखिमयुक्त छन् । बजेट अभावले भवन बनाउन नसकिएको उहाँको गुनासो छ । ढुंगामा माटोले बनाइएको यो भवन धेरै स्थानमा चर्केको छ । वर्षामा ठाउँठाउँमा चुहिन्छ । त्यसैले यहाँ विद्युतीय उपकरण जडानमा पनि समस्या परेको छ ।

 ‘हामीसँग ४५ वटा कम्प्युटर पनि छन् । तर, भवन अभावले विद्युत सर्ट हुने खतरा भईरहेको छ,’ शर्माले भन्नुभयो, ‘भवन चुहिने भएकोले बाल्टी थाप्नुपर्ने अवस्था छ ।’ पानीले गर्दा विद्युत सर्ट हुने गरेको छ । पटकपटक सर्ट भएर विद्युत अवरुद्ध भएपछि नियमित काम गर्न नसकेको उहाँले बताउनुभयो । कक्षा कोठा जोखिम र विद्युत जडानमा समस्या भएपछि विज्ञान प्रयोगशाला, पुस्तकालय र कक्षा सञ्चालनमा समेत समस्या छ । पानी चुहिने समस्याले काठहरु कुहिएका छन् ।

विद्यालयमा भएका पुस्तकहरु जोगाउन पनि कठिन भएको अर्का शिक्षक गंगाकुमारी शर्माले बताउनुभयो । ‘पुस्तकालयमा पानी चुहिने, पुरानो भवनमा मुसा लागेर काटीदिने गरेकोले धेरै समस्या भोगेका छौँ,’ उहाँले भन्नुभयो, ‘जिल्ला र नगरपालिकाबाट विद्यालय पुनर्निर्माणमा वास्तै भएन ।’ नगर शिक्षा शाखा, पुनर्निर्माणको शिक्षा इकाइ र अन्य निकायले पनि वास्ता नगरेको उहाँको गुनासो छ । 

भवन जीर्ण भएपनि सिफारिसको प्रतिउत्तर नआएकोले काम गर्न नपाएको शिक्षा हेर्ने अधिकारी मतिलाल चपाइले बतनाउनुभयो । सो शाखा अहिले समायोजन भईसकेको छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले सो विद्यालयमा सहयोग आवश्यक भएको बताउनुभयो । 

‘जीर्ण भवन, दलित र जनजातिका बालबालिका धेरै पढ्ने भएकोले पहुँच समेत कम छ’ उपाध्यायले भन्नुभयो, ‘पुनर्निर्माणमा नपरेपनि अब राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सूचीकृत गर्न खोजेका छौँ । त्यसका लागि नगरपालिकाको प्राथमिकता सूचीमा राख्नुपर्ने हुन्छ ।’ 

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले विद्यालयको पुनर्निर्माण आवश्यक भएकाले यसमा आफूहरु गम्भीर रहेको बताउनुभयो । ‘साथीहरुले कुरा गर्नु भएको छ, अब समयमै सिफारिस गरेर पठाउनुपर्ला,’ उहाँले भन्नुभयो, ‘सबै विद्यालय पक्की बनाउने र सबै विद्यालयमा स्तरीय सडक बनाउने नगरपालिकाको योजना समेत छ ।’ 

सो योजना पूरा गर्न स्रोत साधनको खोजी भईरहेको जैमिनी नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो । जनकल्याण माविमा हाल ३ सय ५० बालबालिका अध्ययनरत छन् । ती मध्ये आधा भन्दा बढी बालबालिका दलित समुदायका छन् ।


प्रतिक्रिया