महासचिव चन्दको राजनीतिक प्रस्तावमा छलफल सुरु

चैत्र ५, २०७८ | कपिलवस्तु

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको अञ्चलपुरस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी १२ औं पूर्ण बैठकमा स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । 

शुक्रबार सुरु भएको बैठकमा वितरण गरिएको प्रस्तावमा आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुने भनिएको थियो । बैठक सुरु हुनासाथ बहुसंख्यक केन्द्रीय सदस्यले प्रस्तावमाथि स्थायी कमिटी सदस्यको धारणा आउनुपर्ने माग राखेका थिए । 

स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएकाले फिर्ता लिन माग गर्नु भएको थियो । अर्का स्थायी कमिटी सदस्य सन्तोष बुढाले सबैको भावना बुझेर चुनाव उपयोग गर्न सकिने बताउनुभयो । 

महासचिव चन्द र स्थायी कमिटी सदस्य खड्क बहादुर विश्वकर्माले भने चुनाव उपयोग गरेर जनताको भावना बुझनुपर्नेमा जोड दिनु भएको थियो । केन्द्रीय सदस्यहरुले प्रस्तवमाथि भोलिबाट धारणा राख्ने एक नेताले जानकारी दिए । बैठकमा ६९ केन्द्रीय सदस्य र ३ जना केन्द्रीय सल्लाहकार सहभागी छन् ।


प्रतिक्रिया