विवादपछि सिन्धुलीमा मतगणना प्रभावित

मंसिर ५, २०७९ | सिन्धुली

सर्वदलीय बैठकमा मतगणनामा सदर र बदरका विषयमा विवाद भएपछि सिन्धुलीमा मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठकमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा गएको र मतदान अधिकृतको सहिछाप नभएको मतपत्रलाई सदर वा बदर गर्ने भन्ने विषयमा दलहरुका प्रतिनिधि, उम्मेदवार र मुख्य निर्वाचन अधिकृतबीच सहमति हुन नसकेको हो । 

प्रतिनिधिसभा क्षेत्र नं २ को (२) मा ४० वटा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको भनेर मतदातालाई दिएको र प्रदेश सभाको मतपेटिकामा खसेको उम्मेदवारहरुले दाबी गरेका थिए । त्यस्तै, क्षेत्र नं १ को धङधङेमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमाबाट मतदान गरेको विषयमा सर्वदलीय बैठकमा विवाद भएको थियो । 

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले कर्मचारीको लापरबाही देखिए कारवाही हुने भन्दै त्यस्तो मत सदर नहुने बताउनुभयो । तर, उम्मेदवारहरुले भने जुन मतपेटिकामा मत खसेको थियो त्यो सदर हुनुपर्ने माग गरेका छन् । सदरमुकामस्थित तरकारी तथा कन्दमुल विकास केन्द्रमा तीन स्थानमा ६ वटा टोली बनाएर मतगणना हुने भएको छ । 

सुरक्षा व्यवस्था कडा बनाइएको र मतगणनामा तारजाली र सीसी क्यामेराको व्यवस्था गरिएको छ । मत परिणाम बाहिर सार्वजनिक गर्न ठाउँठाउँमा माइक लगाइएको छ । समानुपातिकको समेत मत सँगसँगै गणना गरिने भएकाले चारदेखि पाँच दिन भित्रमा सबै परिणाम आइसक्ने आकलन गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीमा ५६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

दुई वटा निर्वाचन क्षेत्रका दुई लाख ८ हजार ३६९ मतदाता रहेकोमा एक लाख १८ हजार ९६० मत खसेको प्रारम्भिक तथ्यांक रहेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं १ मा ६३ हजार १ सय १७ र क्षेत्र नं २ मा ५५ हजार ८ सय ३३ मत खसेको हो । क्षेत्र नं १ मा एक लाख ७ हजार १३६ मतदाता रहेका थिए भने क्षेत्र नं २ मा एक लाख एक हजार २३३ मतदाता रहेका थिए । २०७४ मा भएको निर्वाचनमा सिन्धुलीमा ६५ प्रतिशत मत खसेको थियो । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने ७० प्रतिशत मत खसेको थियो ।


प्रतिक्रिया