८ घण्टापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

मंसिर १०, २०७९ | सिरहा

माओवादी केन्द्र सिरहाका कार्यकर्ताको विरोधका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग ८ घण्टापछि खुलेको छ । एमालेका कार्यकर्ताले गोलबजार नगरपालिकाका पूर्व प्रमुख देवनाथ साहको घरमा ढुंगा प्रहार गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । 

सो घटनामा संलग्नलाई कारवाही गर्ने सहमतिपछि राजमार्ग खुलेको हो । सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित लिलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताले शुक्रबार साँझ निकटतम प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाजुको घरमा ढुंगामुढा गरेको गरेको थियो । 

सम्बन्धित समाचार :

सिरहाको गोलबजारमा माओवादी केन्द्रको प्रदर्शन, सडक अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका थिए । सिरहा ३ बाट निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाजुको घरमा ढुंगा प्रहार गरेको र स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेको विरोधमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड सडक अवरुद्ध गरेको हो ।

कुटपिटबाट घाइते भएका साहको गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ । एमालेका श्रेष्ठले माओवादी केन्द्रका साहलाई १ हजार १ सय ८२ मतान्तरले हराएको हो । आफ्नो जितपछिको उन्मादमा एमाले कार्यकर्ताले ढुंगा प्रहार गरेको माओवादी केन्द्रको आरोप छ । 


प्रतिक्रिया