एक स्पेनिस सहित ६ नेपालीले चढे मनास्लु

पुस २२, २०७९ | काठमाडौं
प्रख्यात स्पेनिस आरोही एलेक्स टक्सिकन र ६ जना नेपाली आरोही आज विश्वको आठौं अग्लो हिमाल मनास्लुको चुचुरोमा पुगेका छन् ।
सो हिमालको चुचुरोमा पुग्ने नेपाली आरोहीमा तेञ्जेन शेर्पा लामा, पासाङ नुरबु शेर्पा, मिङ्तेम्बा शेर्पा, छेपाल शेर्पा, पेम्बातासी शेर्पा र ग्यालु शेर्पा छन् ।
जाडोयाममा भएको यो आरोहणलाई सरकारी अधिकारीहरुले दुर्लभ र गर्वको क्षण भएको बताएका छन् । नेपाल पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले यो आरोहण निकै दुर्लभ र पर्वतारोहण समुदायका लागि गर्वको क्षण भएको बताउनुभयो ।
खतिवडाका अनुसार आज विहान ९ बजेतिर मनास्लुको सफल आरोहण भएको हो । टोलीले बिहीबार राति ११ बजे क्याम्प–थ्रिबाट समिट पुस सुरु गरेको थियो ।
८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहण हरेक वर्ष हुँदै आएपनि सन् १९८३ देखि यता हिउँदमा आरोहण भएको थिएन ।
अहिलेसम्म २ हजार ५ सय भन्दा बढीले सो हिमालको सफल आरोहण गरेको नेपाल पर्यटन विभागको तथ्याङ्क छ । मनास्लु हिमाल जापानी पर्वतारोही माझ चर्चित मानिन्छ ।