चैते धानलाई मध्यनजर गरेर नुवाकोटका सरोकारवाला निकायद्वारा मल अनुगमन

चैत्र १, २०७९

चैते धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव र मुल्य बृद्धिको गुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गरेका छन् । बुधबार साँझ जिल्ला समन्वय समिति, स्थानीय प्रशासनको अगुवाइमा नागरिक समाज, प्रहरी र पत्रकार सहितले जिल्लामा रासायनिक मलको आपूर्ति गर्ने निकाय कृषि सामाग्री कम्पनी शाखा कार्यालय त्रिशूली र साल्ट टेडिङ कपोरेशन लिमिटेड नुवाकोट डिप्पोको अनुगमन गरिएको हो । अनुगमनको क्रममा केही मात्रमा रासायनिक मल गोदाममा रहेपनि आपूर्ति कार्य बन्द गर्न माथिल्लो निकायबाट परिपत्र भएकाले सहकारी मार्फत मल दिन बन्द गरिएको ती दुई निकायले जनाएका छन् । 

अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको फागुन २८ गते पत्र अनुसार युरिया, डिएपी र पोटास मलको विक्री वितरण तत्काल रोक्नु पर्ने लिमिटेडको केन्द्रिय कार्यालयका निमित्त प्रवन्ध संचालक विष्णुप्रसाद पोखरेलले पठाएको पत्रमा भनिएको छ । त्रिशूली शाखा कार्यालयले युरिया ४६९ दशमलव १०, डिएपी ४६ दशमलव ९ मेट्रिटन रहेको छ । माथिबाट मल विक्री नगर्नु भनेकाले मल दिन रोकिएको कामु शाखा प्रवन्धक अनुराधा खनालले बताउनुभयो । त्यसैगरी साल्ट टेडिङ कपोरेशन लिमिटेड नुवाकोट डिप्पो प्रमुख सन्देश महर्जनले विहिबारबाट स्थानीय तहबाट सहकारीमार्फत आएका किसानलाई तोकिएको कोटामा मल दिइने बताउनुभयो ।

प्रत्येक मलको बोराको युरियामा ५५० र डिएपी ३५० रुपैयाँ बढेर आएको मलआपूर्ति निकायले जनाएका छन् । साल्ट टेडिङमा डिएपी १ सय ७ दशमल २ र युरिया १७२ दशमलव ८५ मेट्रिकटन मौज्दात रहेको डिप्पो प्रमुख महर्जनले बताउनुभयो । दुई जिल्ला नुवाकोट र रसुवाका किसानलाई यी दुई कम्पनीले मल आपूर्ति गर्दै आएका छन् । कृषि सामाग्रीका अनुसार दुवै जिल्लाका लागि युरिया ६ हजार र डिएपी ५ हजार मेट्रिकटन आवश्यक पर्ने जनाएको छ भने साल्ट टेडिङले २ हजार ५ सय र ११ सय मेट्रिकटन आवश्यक पर्ने बताइएको छ । कृषि सामाग्रीले ७० प्रतिशत र साल्ट टेडिङले ३० प्रतिशत मल आपूर्ति गर्ने अनुमति पाएका छन् । 


प्रतिक्रिया