१२ जना सांसद दिल्लीमा

चैत्र १४, २०७९ | दिल्ली

प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली पुगेका छन् । एकै साथ ठूलो संख्यामा सांसदहरु ९ दिनको भारत भ्रमणमा पुगेका हुन् । दिल्ली पुगेका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार छन् । एमालेका मेनुका पोखरेल, बलराम अधिकारी, नारयाण आचार्य, सराज अहमद फारुक छन् । त्यस्तै, माओवादी केन्द्रका माधव सापकोटा, मिना तामाङ छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ढककुमार श्रेष्ठ र नेकपा समाजवादीका शेरबहादुर कुँवर भ्रमण टोलीमा सहभागी छन् ।

बिहान ८ बजेको नपाल एयरलाइन्सको विमानबाट गएका सांसदहरु दिल्ली गुरुग्राममा रहेको र्‍याडिसन होटलमा बसेका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदहरुलाई दिल्ली लगेको हो । संस्थाका अध्यक्ष अरविन्द महतोले भारतको संसदीय व्यवस्था प्रणालीको अध्ययन अवलोकनका लागि सांसदहरुको भारत भ्रमणको आयोजना गरिएको बताउनुभयो । दिल्लीस्थित नेपाली दूतावासलाई सांसदहरुको भ्रमणबारे कतैबाट जानकारी गराइएको छैन । दूतावास स्रोतले सरकारी तहबाट आयोजना नगरिएकैले दूतावासमा जानकारी नआएको हुनसक्ने बताएको छ । संसद सचिवालय वा परराष्ट्र मन्त्रालयले भ्रमणको आयोजना गरेको छैन । दूतावासका अधिकारीका अनुसार भारतको विदेश मन्त्रालय वा लोकसभाले औपचारिक रुपमा निम्तो पठाएर भ्रमण भएको भए परराष्ट्र मन्त्रालयबाट निश्चय पनि भ्रमणबारे दूतावासलाई जानकारी आउँथ्यो ।

भ्रमण टोलीमा १९ जना सांसदहरुको नाम रहेकोमा अन्तिममा १२ जनामात्रै भ्रमणमा गएका हुन् । सांसदहरुलाई दिल्लीको विभिन्न ठाउँमा भ्रमण गराउनुका साथै विदेश मन्त्रालयका नेपाल भुटान हेर्ने सह सचिव अनुराग श्रीवास्तव र भाजपका विदेश विभागका प्रमुख विजय चौथाइवालसँग भेटाउने आयोजकले कार्यतालिका बनाएको छ । पहिलो दिनभने सांसदहरुले अपरान्ह ४ बजे नीति आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग छलफलमा सहभागी हुने र त्यसपछि महात्मा गान्धीको समाधीस्थल राजघाट जाने कार्यक्रम छ । तर, दोस्रो दिन संसद घुम्ने, विवेकानन्द फाउन्डेसनमा अन्तक्र्रियामा सहभागी हुने, नेपालका लागिपूर्व भारतीय राजदूत मञ्जिव सिंह पूरीसँग भेटको कार्यक्रम छ । तीनदिनको दिल्ली भ्रमणपछि सांसदहरुलाई मुम्बई लगिने छ । त्यहाँ पनि चारदिनको भ्रमण गराइने त्यस क्रममा त्यहाँका राज्यपाल, मुख्यमन्त्री र नेपाली समूदायसँग अन्तरक्र्रिया गराइने भ्रमणको कार्यसूची छ । चैत्र २२ मा मुम्बईबाट सांसदहरु काठमाडौं फर्किनेछन् । 


प्रतिक्रिया