प्रधामन्त्रीको भारत भ्रमणको टुङ्गो अझै लागेन

चैत्र २२, २०७९ | नयाँ दिल्ली

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको टुङ्गो अझै लागेको छैन । प्रधानमन्त्री भए लगत्तै दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिनु भएको थियो । उहाँ प्रधानमन्त्री भएको एक सय दिन कटिसक्दा पनि भारत भ्रमणको तिथी तय भएको छैन । सरकारी स्रोतहरुले चैत्रको अन्त्य वा बैशाखको प्रारम्भमा भ्रमण हुनसक्ने बताउँदै आएका थिए । तर, अप्रिलको पहिलो साता गुज्रिनै लाग्दापनि भ्रमणको तिथी बारे कुनै निर्णय आएको छैन । 

दिल्ली स्थित नेपाली दूतवास स्रोतले भ्रमणको मिति बारे कुनैपनि जानकारी नआएको बताएको छ । कान्तिपुरसँगको कुराकानीमा बालुवाटार स्रोतले भ्रमणको सम्भावित तिथी पनि तय नभइसकेको बताएको छ । बालुवाटारले परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायलाई आवश्यक तयारी गर्न निर्देशन भने दिएको छ । आगामी बैशाख १० मा तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको उपनिर्वाचन हुने भएकाले प्रधानमन्त्रीको भ्रमणलाई त्यसले पनि प्रभावित बनाउने छ । उपनिर्वाचनपछि नै भ्रमणको सम्भावना रहने बालुवाटार निकट स्रोतले बताएको छ ।

विश्वासको मत लिइसकेका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको विस्तार गरेपनि अझै पूर्णता पाइसकेको छैन । परराष्ट्र मन्त्री नै खाली छ । द्विपक्षीय एजेन्डाहरु सेटिङका लागि परराष्ट्रमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । भारतीय विदेश मन्त्रालय निकट स्रोतले नेपाल भित्रको राजनीतिक घटनाक्रमहरु र त्यसको व्यवस्थापनमा भइरहेको ढिलाईले नै भ्रमणको सुनश्चितता हुन नसककेको बतायो ।

बैशाख २७ गते कर्नाटकमा चुनाव तोकिएकाले चुनावी प्रचारमा प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तता बढ्ने भएकाले ती सबैलाई मध्यनजर गर्दै उपनिर्वाचन लगतै दाहालको भ्रमण नभए त्यसमा थप ढिलाई हुँदै जाने सम्भावना देखिन्छ । 


प्रतिक्रिया