नेता न्यौपानेले त्यागे एकीकृत समाजवादी
चैत्र २५, २०७९ | काठमाडौं
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेता न्यौपानेले पार्टी त्यागेको घोषणा गर्नुभएको हो । एमालेसँग अलग भएपछि पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका नेता न्यौपानेले अन्ततः पार्टीबाट बाहिरिने घोषणा गर्नुभएको हो ।
एकीकृत समाजवादी सत्ता गठबन्धनको दलदलमा फसेको भन्दै न्यौपानेले पार्टी नेतृत्व पार्टीका बैठकमा नभई कोठे राजनीतिमा संलग्न भएको आरोप लगाउनुभयो । भविष्य नभएको पार्टीको नेता भन्दा सम्मानित नागरिक भएर बस्नु महत्वपूर्ण भएको भन्दै उहाँले आफू पार्टीबाट अलग भएको बताउनुभयो ।
अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उहाँलाई स्पष्टीकरण सोधिएको थियो । समाजवादी छाडेसँगै न्यौपाने एमालेमा प्रवेश गर्ने सम्भावना भएको बताइएको छ ।