पाल्पाका स्थानीय तहको बजेट कृषि र पूर्वाधारमा केन्द्रित

असार १०, २०८० | पाल्पा

पाल्पा जिल्लाका दुई नगर र आठ गाउँपालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन् । कतिपयले नीति तथा कार्यक्रम र त्यसपछि बजेट सार्वजनिक गरेका छन् । केही स्थानीय तहले यसअघि नै नीति तथा कार्यक्रम ल्याएका थिए । तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिकाले यसअघि नै नीति तथा कार्यक्रम ल्याएका हुन् । अन्य स्थानीय तहले आइतबार पहिलो बैठक नीति तथा कार्यक्रम र दोस्रो बैठक बजेट सार्वजनिक साथै विभिन्न विद्येयक पेश गरेका हुन् ।

पाल्पाका सबै स्थानीय तहले कृषि तथा पशुपालन र भौतिक पूर्वाधारलाई नै जोड दिएका छन् । तानसेन नगरपालिकामा नगरप्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार नीति तथा कार्यक्रममा आधारित रहेर तानसेनको भूगोल, जनजीवन, विविधायुक्त संस्कृतिसंग जोडिएका आर्थिक तथा सामाजिक पक्षलाई केन्द्रविन्दुमा राखेर बजेट ल्याएको बताउनुभयो ।

उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले विनियोजन विद्येयक प्रस्तुत गर्दै १ अर्ब २ करोड ८ लाख ६४ हजार ३६७ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो । उहाँले प्रस्तुत गरेको बजेटमा ४५ दशमल ३९ प्रतिशत पुँजीगत बजेट रहेको छ । उहाँले सामाजिक सुरक्षा अन्तर्गत २० करोड रुपैयाँ आय र व्ययतर्फ समावेश गरिएकाले बजेटको आकार तुलनात्मक रुपमा गतवर्ष भन्दा सानो देखिएको बताउनुभयो ।

नगरपालिकाले सात करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा हुने र आगामी ९ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

नगरसभाबाट विनियोजन विद्ययेक, आर्थिक विद्ययेक, साझेदारी कार्यक्रम सञ्चालन गर्न बनेको विद्ययेक, फोहोरमैला व्यवस्थापन गर्न बनेको विद्ययेक संयोजकहरु हेमन्तराज शाक्य, सुनिलकुमार बस्याल, बावुरत्न शाक्यले विद्ययेक पेश गरेका थिए । उक्त विद्येयक सर्वसम्मत पारित भएको छ ।

नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक गहाले न्यायिक समितिबाट सम्पादित २१ वटा मुद्दाको जानकारी दिनुभयो । लेखा समितिको प्रतिवेदन समितिका संयोजक राजेशकुमार अर्यालले प्रस्तुत गर्दै नगरपालिकाले बेरुजु घटाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो ।

रामपुर नगरपालिकामा ६९ करोड ७२ लाख ५० हजारको बजेट उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभयो । विनियोजन विद्येयक र आर्थिक विद्येयक पेश गर्दै रामपुर नगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा जोड दिइएको छ । यसअघि नगरप्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम पनि आइतबार नै सार्वजनिक गर्नुभएको थियो ।

निस्दी गाउँपालिकामा ६४ करोड ७ लाख ९७ हजारको बजेट उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले सार्वजनिक गर्नुभयो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा कृषि तथा पशु उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई महत्व दिएको बताउनुभयो ।

पूर्वखोलामा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । यस्तै उपाध्यक्ष भागिरथी भट्टराईले ४६ करोड ६७ लाख, ३ हजार ३ सय ८५ रुपैयाँको बजेट सभामा पेश गर्नुभयो ।

रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पशुपालनमा जोड दिँदै शिक्षा र स्वास्थ्य पर्यटनलाई प्राथमिकता दिइने बताउनुभयो । उपाध्यक्ष राधाकुमारी श्रेष्ठले ४८ करोड ८ लाख, १५ हजार ६९ बराबरको आयव्यय बजेट पेश गर्नुभयो । नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताउनुभयो ।

तिनाउ गाउँपालिकामा नीति तथा कार्यक्रम अध्यक्ष प्रेम श्रेष्ठले प्रस्तुत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले ४९ करोड ७२ लाख २४ हजारको बजेट सार्वजनिक गर्नुभयो । बजेटले शिक्षा, कृषि, स्वास्थ्य साथै भौतिक पूर्वाधारमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिकामा ४९ करोड ३४ लाख ६४ हजार ५२४ को बजेट सार्वजनिक गरेको उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिनुभयो । बगनासकालीले भौतिक पूर्वाधारका साथै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक विकासमा बजेट विनियोजन भएको अध्यक्ष सरस्वती चिदी दर्लामीले बताउनुभयो । बगनासकाली गाउँपालिकाले यसवर्ष राजश्वको दायरा बढाएर ६५ लाखबाट ९० लाख आन्तरिक आम्दानी पुर्याउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो । बगनासकालीले सम्पत्तीकर, व्यवसाय कर लगायतमा यसवर्ष जोड दिनेछ ।

माथागढी गाउँपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट शुक्रबार प्रस्तुत गरेको छ । उपाध्यक्ष विष्णुमाया लुङचे मगरले ५५ करोड २२ लाख ३ हजार ३ सय ५४ बजेट सभामा प्रस्तुत गर्नुभयो । पुँजीगततर्फ २३ करोड १९ लाख र चालुतर्फ ३२ करोड २ लाख रहेको छ । अध्यक्ष यम चिदीका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा नै बढी खर्च हुने बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाले ५३ करोड ६८ हजारको बजेट १३ औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कान्ता अधिकारीले बजेट प्रस्तुत गर्नुभयो । जसअन्तर्गत गाउँपालिकाले २३ करोड ५६ लाख ६४ हजार र चालु खर्चतर्फ २९ करोड ४४ लाख ४ हजार खर्च हुने अनुमानित बजेटमा छ ।

संघीय सरकार वित्तीय समानिकरण अनुदान ८ करोड ४९ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँडमार्फत् ७ करोड ९३ लाख ३६ हजार ४ सय, संघीय सरकारको समपूरक अनुदान ७५ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, संघीय सरकार ससर्त अनुदान २६ करोड २८ लाख रहेको अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।

संघीय सरकारको ससर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नविकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगेपुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो । रैनादेवी छहरामा पनि ६५ करोड १८ लाख ५५ हजारको बजेट उपाध्यक्ष युवराज थापाले प्रस्तुत गर्नुभयो । रैनादेवी छहरामा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएर बजेट बनाइएको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिनुभयो । भौतिक पूर्वाधार, कृषि शिक्षा, स्वास्थ्यमा सबैभन्दा बढी बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो । 


प्रतिक्रिया