धरानमा भयावह बनेको डेंगी नियन्त्रणमा समन्वय अभाव

श्रावण ३२, २०८०

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले जनस्वास्थ्य आपतकाल घोषणा गर्नु जरुरत नभएको बताउनु भएको छ । धरानमा महामारीको रुपमा फैलिएको डेंगी संक्रमणलाई जनस्वास्थ्यविदहरुले नियन्त्रणबाहिर गएको बताइरहेका बेला उपमहानगरपालिका प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो । एकसाता अघि नै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समिति सुनसरीले धरानलाई डेंगी संक्रमण नियन्त्रण नआएसम्म जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणा गर्न नेपाल सरकारको गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सिफारिस गरेको थियो । 

जिल्लाको सिफारिस अनुसार सरकारले धरानलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्न ढिलाइ गरिरहेको बेला प्रमुख साम्पाङले पत्रकार सम्मेलन गर्दै आपतकालिन अवस्था घोषणा गर्नु नपर्ने धारणा सार्वजनिक गर्नु भएको हो । केही वडा र टोलविकास समितिहरुले लार्भा मार्ने काम नगरेको भन्दै उहांले असन्तुष्टी समेत जनाउनुभयो । डेंगीको इपिसेन्टर बनेको धरानमा डेंगी नियन्त्रण गर्न स्थानीय तहबीच मात्र नभई अस्पताल, प्रदेश सरकार र संघीय सरकारबीच पनि समन्वय अभाव देखिएको हाम्रा सहकर्मीले जनाएका छन् । गत बैशाखदेखि नै धरानमा डेंगी देखिएपनि नियन्त्रण गर्न नसकिएपछि विपद् व्यबस्थापन समिति जिल्ला सुनसरीले आपतकाल घोषणा गर्न सिफारिस गरेको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ एण्ड कम्यूनिटि मेडिसिनका प्रा डा विजय खनालले धरानलाई आपतकाल घोषणा गर्दा सरकारका तीनै तह सक्रिय हुने बताउनुभयो । सबै विभाग र समुदाय डेंगी नियन्त्रणमा केन्द्रीत हुने उहांको भनाई छ । 

धरानमा समन्वयको अभाव रहेको समेत उहांले बताउनुभयो । नगरप्रमुख लार्भा नस्ट गर्न गएको कार्यक्रममा वडाअध्यक्ष नजाने, वडाध्यक्ष गएको कार्यक्रममा प्रमुख नजाने भएपछि धरानको डेंगी संक्रमण झन् जटिल हुन थालेको डा खनालले बताउनुभयो । पछिल्लो तथ्यांक अनुसार धरानमा १६ हजार ४ सय ५० जनाको परीक्षण गर्दा ११ हजार ८ सय ९७ जनामा डेंगी पोजेटिभ पाइएको छ । जुन दर ७२ प्रतिशत हो । छ । डेंगीकै कारण प्लेटलेट्स घटेर र आन्तरिक र वाह्य रक्तश्राव भएपछि कतिपय विरामी आइसियुमा भर्ना हुन बाध्य छन् । दुइ बालबालिकासहित ६ महिला र ५ पुरुषको मृत्यु भइसकेको छ । विपि प्रतिष्ठानका एक चिकित्सकले हाल ९ जना डेंगी संक्रमित गम्भिर अवस्थामा उपचाररत रहेको बताए ।

यसैबीच स्थानीय सरकारले डेंगी महामारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै धरानका राजनीतिक दलहरु प्रदेश सरकारको ध्यानाकर्षण गर्ने तयारीमा जुटेका छन् । राजनीतिक दलको टोलीले मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर धरानको स्वास्थ्य अवस्थाबारे शनिबार भेटेर जानकारी दिने र डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउने एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले बताउनुभयो । निवार्चित भएदेखि नै धरान प्रमुख साम्पाङ र धरानका राजनीतिक दलहरुबीच सहकार्य, समन्वय गर्ने पहल नगरेको उहांको भनाई छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किट विषेशज्ञ डा ललिता रोयले धरानका प्रत्येक घरमा डेंगी भाइरस फैलाउने एडिज एजिप्टाइ र एडिज एल्बो पिक्टस जातको लामखुट्टे रहेको बताउनुभयो । 


प्रतिक्रिया