आहा–रारा पोखरा गोल्डकपमा तीन विदेशीसहित १२ टिम

माघ १८, २०८१ | पोखरा

आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणमा तीन विदेशी क्लब सहभागी हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी हने भएका छन् । 

क्लबले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ‘ए’ डिभिजन क्लबले समेत भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

फागुन ३ मा हुने फाइनल अघि माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ मा दोस्रो सेमिफाइनल हुनेछ । सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । 

तीमध्ये यूके र आर्मीले सिधैं क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् ।

तीमध्ये थ्री स्टार र उज्वेकिस्तानले सिधैं क्रमशः दोस्रो र चौंथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार रुपैयाँ बचत हुने आयोजकको अनुमान रहेको छ । 

गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् । साविक विजेता आर्मीले १२ लाख र उपविजेता थ्री स्टारले ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । विसं २०५५ मा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको छ ।

आहा–रारा नेपालमै निरन्तर भइरहेको एक मात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।


प्रतिक्रिया