ललितपुर महानगरको सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि,धापाखेल झिलिमिली

भाद्र ६, २०८० | ललितपुर
ललितपुर महानगरको सुनाकोठी, धापाखेल, भैसीपाटी, सुनाकोठी, बुङमती, खोकना झिलिमिली भएका छन् । ललितपुर महानगरले यी वडाहरुमा स्मार्ट सडक बत्ती जडान गरेसँग सडक उज्यालो र सुरक्षित भएका हुन् । ललितपुर महानगरको वडा नै २८ र २९मा भने बत्ती जडानको काम सुरु भएको छ । केही साताभित्र बत्ती बल्ने प्राविधिकहरु ले बताएका छन् । ललितपुर महानगरले यी वडाहरुमा १४ सय बत्ती जडान गरेको नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । ‘ललितपुर महानगरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गरेका हौं , यो कामबाट सडक सुरक्षित समेत भएको छ । ’ उनले भने ।
स्मार्ट सडक बत्ती जडान गर्ने ललितपुर महानगरपालिका पहिलो स्थानीय तह हो । महानगरले बत्ती जडानको काम सुरु गरेपछि मात्रै अन्य पालिकाले काम सुरु गरेका हुन् । यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।
महानगरको ‘कोर एरिया’मा दुई वर्ष अघि नै स्मार्ट सडक बत्ती
ललितपुर महानगरको ‘कोर एरिया’ मा स्मार्ट सडक बत्ती जडान भइसकेको छ । यी बत्ती जडान भएपछि सडक उज्यालो र सुरक्षित भएका छन् । महानगरपालिकाभित्रका तीनवटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट सडकबत्ती जडान भएका हुन् । बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल ( इनार ) ,पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म,पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भएका हुन् । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरेको हो ।
चक्रपथमा पनि सडक बत्ती
ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चत्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो । बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भइसकेको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । चत्रपथमा जडान गरिने स्मार्ट सडक बत्तीले रातको समयमा हुने सडक दुर्घटना न्यून हुने नगरप्रमुखले बताए । उनले भने,‘ अधिकांश दुर्घटना राति भएका छन् ,ती दुर्घटना बत्ती नभएको कारणले भएका हुन् । ’ स्मार्ट सडक बत्तीले सडकलाई उज्यालो र सुरक्षित बनाउने उनको भनाई छ ।