धरानमा निषेधाज्ञा जारी

भाद्र ८, २०८०

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जातिय र धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भएकाले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म धरान उपमहानगरपालिकाका २० वटै वडामा लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार धरानमा गोरु काट्न पाउनु पर्छ भनि सामाजिक सञ्जालमा प्रचार प्रसार गरिएको विषयको विरोधमा भोलि र्‍याली गर्ने भनि सूचनापछि सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो । प्रजिअ पाण्डेका अनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिकाको झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, रामधुनी–६ र बराहक्षेत्र–३ नहडाचोकदेखि धरानतर्फको क्षेत्र इटहरी–२० तरहरा पानिपियादेखि उत्तर, केराबारी गाउँपालिकाबाट धरान प्रवेश गर्ने क्षेत्र, धनकुटाको साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्र निषेधाज्ञा जारी गरिएको हो ।

यसैबीच, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीमा अपिल गर्नु भएको छ । एक अपिल प्रकाशित गर्दै उहाँले कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गर्नु भएको छ ।

यस्तै, धरानमा धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै धरानका पूर्व प्रमुख र उपप्रमुखले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव कायम राख्न आहृवान गरेका छन् । यसैबीच विभिन्न राजनीतिक दलहरुले विज्ञप्ति जारी गर्दै सामाजिक र धार्मिक सद्भाव कायम राख्न आहृवान गरेका छन् । 


प्रतिक्रिया