सिरहाका कामतको शव तीन दिनदेखि हरियाणामै

पुस २२, २०८० | सिरहा

भारतमा कार्यरत सिरहा बरियारपट्टी गाउँपालिका–३ नवटोलीका पञ्चा कामतको तीनदिन अघि मृत्यु भएपनि आर्थिक अभावका कारण परिवारजनले शव ल्याउन सकेका छैनन् । उनीहरुले शव घरसम्म ल्याइदिनका लागि गाउँपालिका, प्रशासन, संघसंस्था समक्ष अपील गरेका छन् । 

हरियाणाको कर्नालस्थित सरस्वती राइस मिलमा मजदुरी गर्दै आएका कामतको मृत्युको खबर शुक्रबार बिहान परिवारजनले पाएका थिए । कामतसँगै नवटोलीका सुकरतीया सदाय मुसहर लगायत ६ जनाको टोली ८ महिना अघि मजदुरीका लागि हरियाणा गएका थिए । 

उनीहरुलाई मजदुरीका लागि सिरहा बैशखा मोहनपुरका उमेश र जयप्रकाश यादवले हरियाणा लगेको मृतकका छोरा नथुनी कामतले बताए । ‘बिहीबार साँझसम्म बुबासँग कुराकानी भएको थियो,’ मृतकका छोरा नथुनीले भने, ‘भोलिपल्ट बिहान एक्कासी बुबाको मृत्युको खबर सुन्नुप¥यो ।’ कसरी मृत्यु भयो भन्ने बारे आपूmहरु बेखबर रहेको उनले गुनासो गरे ।

‘मृत्युको खबर पाएपनि बुबाको शव ल्याउन पैसा नभएर जान सकेको छुइन,’ उनले भने, ‘शव ल्याउन पहल गरिदिन गाउँपालिका, प्रशासन गुहारेको तीन दिन बितिसक्दा शव ल्याउन सकिएको छैन । उनले शव ल्याउन सहयोग गरिदिन संघसंस्थालाई समेत आग्रह गरे ।

चार छोरी र एक छोरा रहेका कामत परिवारको लालन पालन मजदुरी गरेर पंचा कामतले चलाउँथे । घरमुलीको मृत्यु भएपछि कामत परिवार चिन्तित छन् । ‘जग्गा जमिनको नाममा ३ कठ्ठा मात्र छ,,’ मृतकका पत्नी बुचियादेवीले भनिन्, ‘लालाबाला मैले कसरी पाल्नु ।’ मृतक पंचा कामतले पटक पटक भारतको पञ्जाब, हरियाणामा मजदुरी काम गरेर परिवारको गुजारा चलाउँदै आएका थिए । कामतको मृत्यु खबर पाएदेखि ठेकेदार समेत सम्पर्कविहीन रहेको परिवारजनले जनाएको छ ।

तराईमा खासगरी दलित मुसहर, खत्वे, चमार, कामत समुदायका मजदुर ठेकेदारको प्रलोभनमा परि भारतका विभिन्न सहरमा पुग्ने गरेका छन् । स्थानीय स्तरमा रोजगारी नपाउँदा भोकभोकै बस्नेहरु कामको खोजीमा रहँदा भारतीय सहरमा मजदुर ल्याउने ठेकेदारी गर्नेहरु उनीहरुलाई प्रलोभनमा पार्ने गर्छन  ।

सुरुमा घरमा केही पैसा दिने अनि भारतीय सहरमा गएर कम मिहिनेतको काममा राम्रो कमाइ हुने प्रलोभन दिएर दलित मजदुरलाई उता लग्ने गरिएको छ । स्थानीय ठेकेदारले भारतका कम्पनीमा मजदुरलाई निश्चित समयका निम्ति काम गर्न जिम्मा लगाउने र समय अनुसार पैसा उठाएर फर्किने गर्छन । भारतको दिल्ली, हरियाणा र पन्जाब राज्यमा लगिने यी दलित मजदुरलाई विशेषतः प्लाइउड फ्याक्ट्री, धान चामल मिलमा काममा लगाइने गरिएको छ । 


प्रतिक्रिया