मनी ट्रान्सफर लुट्ने भारतीय नागरिकको योजना
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/Bharatiyapakrau-1710658681.jpg&w=700&height=600)
चैत्र ४, २०८० | रौतहट
हतियार सहित रौतहट प्रवेश गरेका तीन जना भारतीय नागरिकले विगत तीन महिनादेखि मनी ट्रान्सफरमा लुट्ने योजना बनाईरहेको खुलेको छ ।
परोहा नगरपालिका–९ खापचोकस्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहलाई शुक्रबार गोली हानेर भाग्ने क्रममा पक्राउ परेपछि उनीहरुको योजना बारे खुलेको हो ।
भारत बिहारस्थित चैनपुरका मुनिष भनिने मुनिफकुमार यादव, राधा भनिने राजकुमार पासवान र चुनुकुमार सिंह भनिने चन्द्रभान सिंहलाई २ थान हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको थियो ।
भारतीय नम्बरको मोटरसाइकलमा परोहाआएका उनीहरु साहलाई कन्चडमा गोली प्रहार गरी रकम लुटेर भाग्ने क्रममा स्थानीयको सहयोगमा पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरुले विगत तीन महिनादेखि नै मनी ट्रान्सफरमा निगरानी बढाएर सोही अनुरुप लुट्ने योजना बनाएको बयान दिएकोजिल्ला प्रहरी कार्यालयकीप्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले बताउनुभयो ।