त्रिशूली नदीमा ट्याक्सी खस्दा एक बालकसहित ५ को मृत्यु, एक बेपत्ता [अपडेट]

चैत्र १७, २०८० | गोरखा

पारिवारिक सदस्यको निधनपछि अन्तिम संस्कार सकेर काठमाडौंबाट गोरखा जाँदै गरेका व्यक्तिहरु सवार ट्याक्सी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतक सबै गोरखाका हुन् ।

ट्याक्सी त्रिशूली नदीमा खस्दा एक बालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीहरु एकै परिवारका हुन् ।

 नदीमा बेपत्ता भएका गोरखा–७ का १८ वर्षीय विवस रोकाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार नदीमा बेपत्ता भएका विवसका बुबाको निधनपछि काठमाडौंमा अन्तिम संस्कार गरेर फर्किने क्रममा दुर्घटना भएको हो । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारबाट आज विहान नदीमा खसेको थियो ।


प्रतिक्रिया