उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न

वीरगञ्जको प्रसौनीका छठ व्रतालुहरु सिर्सिया खोलामा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिर : शंकर आचार्य/रेडियो कान्तिपुर 

वैशाख ३, २०८१ | पर्सा

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतालुले यस वर्षको चैते छठ पर्वलाई बिदा गरेका छन् । व्रतालुहरु झिसमिसे देखिनै जलाशयमा उभिएर सूर्योदको लामो प्रतीक्षा गरेका थिए । 

‘बिहनीयाघाट’ भनिने यस दिन व्रतालुहरुले कलिलो सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीहरु अर्घ दिए । व्रत समापन भएपछि व्रतालुले परिवारजन र आफन्त, इष्टमित्रलाई टीका लगाई दिएका थिए । 

व्रतालुहरुले परिवारका तथा आफन्त इष्टमित्र महिलाहरुलाई सौभाग्यको प्रतीक नाकदेखि सिउँदोसम्म सिन्दुर/टीका लगाइ दिएका थिए । विवाहित महिलाले यस्तो टीका लगाउँदा छठी माताको आशीर्वादले पतिको दीर्घायु हुने र दाम्पत्य जीवन सफल हुन धार्मिक विश्वास रहेको छ ।

टीका आदानप्रदान भएपछि व्रतालुले घाटमै प्रसाद वितरण गर्ने र आफूले पनि खाएका थिए । शनिबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खिर (रस्याउ) खाएका व्रतालुले आइतबार दिनभरी निर्जल निराहार कठोर व्रत लिएका थिए । 

पर्वको सम्पूर्ण विधि सकिएपछि व्रतालु तथा तीनका परिवारका सदस्य छरछिमेक, आफन्तजन तथा इष्टमित्रहरुलाई प्रसाद बाँड्नमा व्यस्त छन् । 

विशेष गरी छठ माताको प्रसाद छोरीचेलीको घरमा पठाउने चलन छ । छोरीचेलीको घरमा प्रसाद लिएर प्रायः माइतीबाट दाजुभाईहरु जाने गर्छन् ।


प्रतिक्रिया