जनकपुरमा सहकारीको ८० लाख लुट्ने दुईजना पक्राउ
वैशाख ३१, २०८१ | जनकपुर
जनकपुरको एक बैंकबाट सहकारी संस्थाको ८० लाख रुपैयाँ झिकेर लैजाँदै गरेको अवस्थामा बैशाख १४ गते लुटिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट १४ लाख ५३ हजार रुपैयाँ बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
गत बैशाख १४ गते मध्यान्ह पौने १२ बजेको समयमा जनकपुर उपमहानगर–११ को थुमौनास्थित पोखरी नजिक शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुरको ८० लाख रुपैयाँ लुटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लुटपाटमा संलग्न रहेका दुईजनामाथि अनुसन्धान भइरहेको छ ।
जनकपुर–१३ को प्रगतिनगर बस्ने ५५ वर्षका बिरेन्द्र महतोले ज७प ५१५१ नम्बरको मोटरसाइकलमा क्याट लेखिएको कालो ब्यागमा हिमालयन बैंकको जनकपुर शाखाबाट ८० लाख रुपैयाँ झिकेर फर्किदै गर्दा लुटपाट भएको थियो ।