१९ औँ एसिया सहयोग सम्वादमा पराराष्ट्रमन्त्री श्रेष्ठको सम्बोधन

असार १०, २०८१ | काठमाडौं

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरानको तेहरानमा आयोजना भइरहेको १९ औँ एसिया सहयोग सम्वाद अर्थात् एसीडीलाई सम्बोधन गर्नुभएको छ ।

इरानका कार्यवाहक विदेशमन्त्री डा. अली बाघेरीको अध्यक्षतामा आयोजित मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले क्षेत्रीय र बहुपक्षीय सहयोगका लागि नेपालको दृढ प्रतिबद्धता दोहो¥याउनुभयो ।

उहाँले एसीडी भिजन २०३०, विकास, दिगोपन र समृद्धि प्राप्त गर्न तथा दिगो विकासको लक्ष्य पुरा गर्न जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सम्बोधनको क्रममा कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भूराजनीतिक प्रतिद्वन्द्विताले निम्त्याएको चुनौतीबारे धारणा राख्नुभएको थियो । उहाँले एकीकृत, सहज र समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र सामूहिक सहयोगमा जोड दिनुभयो ।

यसअघि, परराष्ट्रमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेशमन्त्री बाघेरीसँग भेटवार्ता गर्नुभएको थियो । हिजो साँझ भएको सो भेटमा द्विपक्षीय आपसी हित र सहयोगको बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ । उहाँ भोलि बिहान स्वेदश फर्कदै हुनुहुन्छ ।  


प्रतिक्रिया