अपराध र तस्करी नियन्त्रणमा नेपाल–भारतबीच समन्वय गर्ने सहमति

असार १६, २०८१ | पर्सा

सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा नेपाल र भारतबीच समन्वय गर्ने सहमति भएको छ । नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको शनिबार वीरगञ्जमा सम्पन्न बैठकमा सो सहमति भएको थियो । 

बैठकमा सीमापारका चुनौतीको सामना गर्न आपसी सहयोग र समन्वय गर्ने विषयमा दुबै देशका अधिकारीहरुले छलफल गरेका थिए । बैठकमा नेपालका सीमावर्ती जिल्लाका पदाधिकारी, पूर्व चम्पारण र पश्चिम चम्पारण जिल्लाका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको थियो । 

सीमा सुरक्षा, नक्कली नोटको तस्करी नियन्त्रण, हातहतियार, लागूऔषध, मदिरा, सुर्ती तथा अन्य अवैध वस्तुको नियन्त्रणका विषयमा बैठकमा छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो । 

बैठक पर्साका प्रमुख जिल्ला अधिकारी भुषालसँगै भारत बिहार पूर्वी चम्पारणका जिल्ला अधिकारी सौरभ जोरवालको संयुक्त अध्यक्षतामा भएको थियो । भेटमा दुवै जिल्ला अधिकारीले संयुक्त रुपमा वार्ता अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको र यसले आगामी दिनमा सीमापार हुने गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न निकै मद्दत पुग्ने बताए । 

बैठकको प्रारम्भमा भारत बिहार पूर्वी चम्पारण जिल्ला अधिकारी सौरभ जोरवाल र पश्चिम चम्पारण जिल्ला अधिकारी दिनेश कुमार रायले भारतको २०२४ को लोकसभा निर्वाचनको अवसरमा नेपालबाट प्राप्त सहयोगका लागि नेपाली पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए । 

बैठकमा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, भारतको पूर्वी र पश्चिमी चम्पारणका जिल्ला अधिकारी, नेपालका दुबै जिल्लाका प्रहरी उपरीक्षक, पश्चिम चम्पारणका जिल्ला मजिस्ट्रेट, भारत बगाहाका प्रहरी उपरीक्षक, भारतको मोतिहारी नगरपालिका आयुक्त, अतिरिक्त कलेक्टर, सदरमुकामका एसडीओ लगायत सहभागी थिए । 


प्रतिक्रिया