नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न बाटो खुल्ला
पुस २७, २०८१ | काठमाडौं
सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न बाटो खोलेको छ । सरकारले ल्याएको नयाँ अध्यादेशमा नेपाली आईटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न, लगानी गर्न, र त्यहाँबाट आर्जित आम्दानीलाई कानुनी रूपमा स्वदेश भित्र्याउन कानुनी आधार तयार गरिएको छ ।
लामो समयदेखि नेपालको आईटी क्षेत्रमा क्रियाशील उद्यमीहरूले उठाउने गरेको प्रमुख मागमध्ये एकलाई सम्बोधन गर्न सरकारले अध्यादेशमार्फत प्रयास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे फेसबुक पोस्टमा भन्नुभएको छ,“नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू थिए । अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रूपमा भित्र्याउन पाउने भएका छन् ।”
प्रधानमन्त्री ओलीले आइटीबाट गरिएको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपति समक्ष सिफारिस गरिएको र यसबाट आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने विश्वास लिइएको समेत बताउनुभएको छ ।
अध्यादेशमा समेटिएका व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि सम्बन्धित कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने बताइएको छ ।