यू–१९ महिला टी–२० विश्वकप खेल्ने नेपाली टोेली मेलेसिया प्रस्थान
पुस २७, २०८१ | काठमाडौं
आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज मलेसिया गएको छ । मलेसियामा आगामी माघ ५ गतेबाट सुरु हुने यू–१९ विश्वकप खेल्ने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानले हिजो बिदाइ गरेको थियो ।
झन्डै तीन साताको प्रशिक्षणपछि विश्वकपका लागि क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । माघ २० सम्म सञ्चालन हुने विश्वकपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोलीको सहभागिता रहनेछ । त्यसअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग यू–१९ को विश्वकप अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
नेपालले समूह ‘डी’मा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग खेल्नेछ । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्वकपमा डेब्यु गर्नेछ । विश्वकपको समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन् ।