मनास्लु हिमाल आरोहणका लागि २९० जनाले लिए अनुमति

भाद्र २७, २०८१ | गोरखा

शरद ऋतुमा मनास्लु सहित विभिन्न ७ वटा हिमाल आरोहणका लागि ३ सय २९ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म सबै भन्दा वढी मनास्लु हिमाल आरोहणका लागि २ सय ९० जनाले अनुमति लिएका हुन् ।

८ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लािग २५ समूहका २ सय १० पुरुष र ८० महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहणबाट मात्र ३ करोड ४९ लाख ७१ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।

पुथा हिउँचुली हिमाल आरोहणका लागि २ समूहका ९ जना, अन्नपूर्ण चौंथो र पुङ्गी हिमाल आरोहणका लागि १÷१ समूहका ५÷५ जनाले अनुमति लिएका छन् ।

त्यस्तै, धौलागिरी हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएको विभागले जनाएको छ । 

सात वटा हिमाल आरोहणबाट ३ करोड ७४ लाख ४३ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । 

हालसम्म विभिन्न ५२ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ । 

गत आर्थिक वर्ष ९ हजार सात सय ८३ जना विदेशी पर्यटकले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । 

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुत्त समय मानिन्छ ।


प्रतिक्रिया