जसपा नेपालको बैठक आज सकिदै
आश्विन ४, २०८१ | काठमाडौं
जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय विभागहरु, केन्द्रीय सचिवालय गठन गर्ने तयारी गरेको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालय गत बुधबारदेखि सुरु बैठकमा जनतासँग जसपा नेपाल अभियानको समीक्षासाथै यसको प्रभावकारिता, पेसागत एवं भ्रातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत मुख्य एजेण्डामा छलफल भइरहेको हो ।
पार्टी संगठन निर्माणको कामलाई प्राथमिकता दिदै भदौबाट सुरु भएको सो अभियानमा भएका कार्यप्रगतिबारे छलफल र थप रणनीति योजना बनाउने गरि बैठक छलफलमा केन्द्रीत रहेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।
संविधान संशोधनलगायत विषयमा समेत छलफल चलाएको बैठकमा नेताहरुले यसका सवल र दुर्वल पक्षलाई केलाउदै सरकारलाई सुझाव दिनुपर्ने बताएका छन् ।
काँग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संसोधनको गृहकार्य अघि बढाएपछि जसपा नेपालले पनि कार्यकारणी बैठकमा छलफल अघि बढाएको हो ।
गत साउन २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको ३१ सदस्यीय कार्यकारिणी समितिको प्रथम बैठकले सरकारलाई संविधान संसोधनमा गर्नुपर्ने सुधारसहित संगठन निर्माणका रणनीति योजनाहरु तयार पार्ने जनाएको छ ।
बैठक आजै समापन हुने प्रवक्ता सुमनको भनाइ छ ।