गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा रास्वपा सभापति लामिछानेले राजस्व समेत छली गरेको समितिको निष्कर्ष

आश्विन ४, २०८१

सहकारी छानबिन संसदीय विशेष समितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा रवि लामिछानेले राजस्व समेत छली गरेको निष्कर्ष निकालेको छ । समितिको प्रतिवेदनले कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छबिलाल जोशीको भनाई समेतबाट देखिएको उल्लेख गरेको छ । एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासन विपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरवापत सरकारले प्राप्त गर्ने राजश्वमा समेत छली भएको देखिन आएको पनि प्रतिवेदनमा भनिएको छ ।

यसैबीच गोर्खा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गितेन्द्र बाबु जीबी राई नै जिम्मेवार रहेको बयान दिए पनि लामिछाने आफैंले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ । समितिले प्रतिवेदन लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएको चेकहरूको फेहरिस्त नै राखेको छ ।

लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको छ । लामिछानेले एउटै चेक तीन करोड रुपैयाँसम्मको काटेको पाइएको छ ।

यस्तै सहकारी छानबिन विशेष समितिले सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडियामा रकम प्रवाह भइराख्दा नियामक निकायहरू बेखबर बनेको निष्कर्ष निकालेको छ । समितिको प्रतिवेदन अनुसार सहकारी मात्र होइन कम्पनीकै कागजातहरू पनि कृतिम तरिकाले तयार गर्ने गरेको उल्लेख छ ।


प्रतिक्रिया