पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि सम्पदा साइकल यात्रा
कार्तिक ३, २०८१ | पाल्पा
पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सम्पदा साइकल यात्रा २०८१ को तयारी तीब्र पारिएको छ । दुई दिने हेरिटेज राइड पाल्पा साइक्लिङ संघको आयोजनामा कार्तिक २३ र २४ गते हुन लागेको पत्रकार सम्मेलमा जानकारी गराइएको हो ।
साइकल यात्रामा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थिति हुनेछ । सम्पदा साइकल यात्रा अन्तर्गत ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुमा पुग्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
यात्रा पाल्पा दरबार संग्रहालयबाट सुरु हुने साइकल यात्रा भैरवस्थान मन्दिर भएर अर्गली दरबार, रुरु ऋषिकेश मन्दिर पुग्नेछ । रिडीबाट फर्किएर पर्यटकीय क्षेत्र रानीमहल, देवदत्तपार्क, लिस्ने भीर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको साइकलबाट परिक्रमा गरिने संघका अध्यक्ष रुपेश महर्जनले जानकारी दिनुभयो ।
यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुने आयोजकले जनाएको छ । संघका उपाध्यक्ष अमन शाक्यका अनुसार अनलाइन मार्फत दर्ता गर्न आहृवान गरेकाले सहभागी अझ बढ्नेछन् ।
यात्रामा सहभागीलाई खाना तथा आवासको व्यवस्था आयोजकले गरेको छ । संघले आयोजना गर्न लागेको सम्पदा साइकल यात्राले स्वास्थ्यलाई मात्र नभई पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुग्ने तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो ।
साइकल यात्रामा सहभागीलाई तानसेन टुँडीखेलबाट धिमे बाजासहित पाल्पा दरबार संग्राहालय परिसरमा पुर्याइनेछ । यात्रा दरबार परिसरबाट सुरु भई पुनः तानसेनमै टुंगिनेछ ।