क्रिप्टो करेन्सीको कारोबारमा संलग्न ७ जना पक्राउ

फाल्गुन २१, २०८१
क्रिप्टो करेन्सीको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्रप्टो करेन्सीको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका घर भई काठमाडौं बस्ने २६ वर्षीय रोशन गुरूङ छन् । त्यस्तै उनलाई लुटपाट गरेको आरोपमा प्युठानका ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङका २४ वर्षीय हिरा मंग्राती, मोरङका २४ वर्षीय कपिल बस्नेत र मनिष कुमार राय तथा दोलखाका ३१ वर्षीय संजोक तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३ तिलिङ्गटारमा क्रिप्टो करेन्सीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनको साथमा रहेको १४ लाख रूपैयाँ लुटपाट भएको खुलेपछि अन्य ६ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।