दशरथ रंगशालको नियति : अन्तर्राष्ट्रिय खेल गर्न अयोग्य

फाल्गुन २२, २०८१ | काठमाडौं
नेपाली फुटबलमा यो साता प्रमुख दुई घटना भए । लामो समयपछि नेपाली पुरुष टोलीले म्याट रसको रुपमा नयाँ प्रशिक्षक पायो । तर, प्रशिक्षक नियु्क्त गर्नुपर्ने कारण मानिएको एसियन कप छनोटको मलेसियाविरुद्धको होम म्याच नेपालले होस्ट गर्न पाएन ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला यसपटक पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि अयोग्य भयो । तर, रंगशाला अयोग्य घोषित भएको यो नै पहिलो घटना हैन र शायद अन्तिम पनि हुनेछैन ।
दशरथ रंगशाला २०१३ सालमा निर्माण भएपनि २०३८ सालमा आएर पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर यसले पायो । लगत्तै २०४० सालमा दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुद साफको पहिलो संस्करण आयोजना भयो । इतिहास गर्विलो भएपनि रंगशालामा अवस्था सधैं उस्तै रहेन र छैन ।
सन् २०१९ मा रंगशालाको पुनर्निर्माण कार्य समयमा नसकिँदा, फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपालमा आयोजना हुन सकेन । त्यस्तै, २०२४ मा अत्यधिक गतिविधि र उचित मर्मतको अभावले मैदानको अवस्था बिग्रँदा, नेपालले बहराइनविरुद्धको खेल घरेलु मैदानमा आयोजना गर्न सकेन । यी घटनाहरूले दशरथ रंगशालाको अवस्थाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजनामा समस्या आएको देखाउँछ ।
यस पटक दर्शकको सुरक्षालाई ध्यानमा राखेर एसियाली फुटबल महासंघ एएफसीले अन्तर्राष्ट्रिय मान्यता खोसेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपले समयमै रिपोर्ट नबुझाएका कारण एएफसीले मान्यता नदिएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
“ एन्फाको आफ्नो स्वामित्वमा रंगशाला छैन । चाहेर पनि हामीले रंगशालाको काम गर्न सक्ने अवस्था छैन । एन्फाकै जिम्मेवारीका रंगशालाको सम्पूर्ण कामहरु आएको खण्डमा यो समस्याहरु आउँदैनकी भन्ने हाम्रो बुझाई हो । ”
अन्तर्राष्ट्रिय मान्यता प्राप्त कुनै पनि मैदानको टेक्निकल्लि रिपोर्ट एएफसीलाई हरेक वर्ष पेश गर्नु पर्ने हुन्छ । एएफसीले सोही प्रतिवेदनका आधारमा रंगशालालाई मान्यता प्रदान गर्छ । यसपटक प्रतिवेदन समयमै तयार नहुँदा रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुमेको हो । पछिल्लो समय दशरथ रंगशालाको प्रयोग र सञ्चालन बारे नै विवाद छ ।
एन्फाले त्यसको जिम्मा लिने या राष्ट्रिय खेलकुद परिषद भन्नेमा मतऐक्यता छैन । तैपनि कानूनतः रंगशाला अहिले राखेप मातहत छ । त्यसैले रिपोर्ट पनि उसैले बनाउनु पर्ने हो । आगामी असारभित्र आवश्यक कागजात पेश गर्ने राखेपको दाबी छ । राखेपका बोर्ड सदस्य सुवर्ण श्रेष्ठ भन्छिन्
“ अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप त्यहि भएको छ । सोे प्रतियोगिताका लागि चाँही मैदान उपयुक्त हुने तर अहिले किन उपयुक्त भएन । नेपाल जस्तो ठाँउमा सुरक्षाको विषयमा कुरा उठाउनुपर्छ जस्तो त मलाई लाग्दैन ।
सुरक्षा पनि अब दर्शकको सुरक्षा हो की खेलाडीको ? भर्खरै सम्पन्न केपी ओली कपमा पनि उल्लेख्य रुपमा दर्शकको सहभागीता देखियो । यो विषयमा आगामी बोर्ड बैठकमा छलफल हुन्छ ।”
नेपालले एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मार्च २५ मा हुने सो म्याच होम नभई अवे म्याच हुने एन्फाले जनाएको छ । होम म्याच न्यूट्रल भेन्यूमा खेल्दा खेलाडीको मनोबलमा असर गर्ने र यसले राम्रो नतिजा हात नपर्ने भन्दै राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डिर रेनुका नगरकोटे भन्छिन्
“ होम म्याच अन्य मैदानमा हुँदा उत्कृष्ट नतिजा हात पर्छ गाहे हुन्छ । एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला छ त्यसमाथि बारम्बार मान्यता गुम्दा यसले अन्य देश प्रति नेपालको छबि राम्रो पार्दैन । ”
समूह ‘एफ’को पहिलो खेल मलेसियासँग दशरथ रंगशालामा हुने तय थियो । तर, पटक–पटक अन्तर्राष्ट्रिय मान्यता नपाएको दशरथ रंगशालाले यसपटक पनि खेल खेलाउन पाउनेछैन ।
नेपालमा तय खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा हुने एएफसीले जनाएको छ । एएफसीले मैदान निरीक्षण टोलीको प्रतिवेदनपछि खेल सारेको हो । उसले नेपालले अन्तर्राष्ट्रिय मान्यताका लागि मापदण्ड पूरा नगरेको दाबी गरेको छ । पटक पटक नेपालको अन्तर्राष्ट्रिय रंगशालाको मान्यता गुम्दा नरमाइलो लाग्ने फुटबल प्रेमी अमिर रञ्जित बताउँछन्
“ नेपालको होम म्याच अन्य देशमा हुँदा नेपाली दर्शकले मैदानमा गई खेल हेर्न नपाउनु नेपालको दर्शकको दुर्भाग्य हो । समस्या के हो चाँडो भन्दा चाँडो सम्बन्धित निकायले छलफल गरि ध्यान दिन जरुरी छ ।”
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनलाई म्याच हुुने रंगशालाको अवस्था, मैदानको अवस्था, फ्लड लाइट तथा खेलाडी र दर्शकको सुरक्षा लगायत सम्पूर्ण कुुराहरुको प्रावधान पूरा हुनुु पर्छ ।
नेपालको एउटै मात्र रंगशालाले पनि पटक पटक अन्तर्राष्ट्रि मान्यता प्राप्त गेम गर्न असफल हुन्छ । यसले समग्र नेपालली फुटबलमाथि असर पर्ने भन्दै फुटबल जानकार प्रकाश तिमल्सिनाले भने
“एन्फाले यसको गम्भिरताको विषय सरकारलाई राम्रोसंग बुझाउन नसकेको हो । रंगशालाको प्रयोग, त्यसको संरक्षण, मर्मतको विषयमा चाँही एन्फाले काम नगरेको भएर एन्फाले आफै जिम्मा लिएको हो ।
यसमा सम्बन्भित निकायको समन्वयको कमी र अर्को फुटबल प्रति सरकारलाई जवाफदेही बनाउन नसक्नु एन्फको पनि कमजोरी हो ।”
दशकौं अघि निर्माण भएको दशरथ रंगशालालाई व्यवस्थित गर्न नसक्नु लज्जाको बिषय भएको छ । १५ हजार दर्शक क्षमता भएको दशरथ रंगशालाले नेपाली फुटबलको लामो इतिहास र विरासत बोकेको छ ।
त्यसैले यसलाई व्यवस्थित गर्न सम्वन्धित निकाय गम्भीर हुनुपर्ने बेला भइसकेको छ ।