सातौं सामाजिक सुरक्षा दिवस आज

मंसिर ११, २०८१ | काठमाडौं

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम सञ्चालनमा ल्याएको ७ वर्ष भइसक्दा पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

२०७५ मंसिर ११ देखि लागू भएको सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध रोजगारदाताको संख्या न्यून छ ।

सरकारले रोजगारदाता प्रतिष्ठानलाई सामाजिक सुरक्षामा आउन कडाइ नगर्नुका साथै अनौपचारिक क्षेत्रलाई कानूनी रुपमा नसमेट्दा धेरै श्रमिक समेत सरकारी कार्यक्रमबाहिरै छन् ।

सरकारी तथ्यांकअनुसार मुलुकमा ९ लाखभन्दा बढी व्यवसायिक फर्महरु दर्ता भएका छन् ।

तर, हालसम्ममा कुल १९ हजार ७ सय ६९ रोजगारदाता मात्र कोषमा सूचीकृत भएका छन् ।

कोषकाअनुसार १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ता मात्र कोषमा आवद्ध भएका हुन् ।

कोषमा हालसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ रकम जम्मा भईसकेको छ भने ११ अर्ब ६२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ८३ हजार ९ सय ६० जनाको दाबी परेकोमा एक अर्ब ४८ करोड १६ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैबीच, सातौं सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ भएको दिनलाई सरकारले हरेक वर्ष दिवसको रुपमा मनाउँदै आएको छ ।


प्रतिक्रिया