गढीमाई दर्शन गरेर फर्किंदै गरेको जिप रौतहटमा दुर्घट्ना, ८ को मृत्यु
मंसिर २५, २०८१ | रौतहट
रौतहटको चन्द्रपुर नगरपालिकास्थित धन्सार–लमाहा सडकखण्डमा मंगलबार बिहान जिप दुर्घट्ना हुँदा चालक सहित ८ जनाको मृत्यु भएको छ । बालबालिका सहित ४ जना घाईते भएका छन् ।
बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कदै गरेको बा १६ च ३१६२ नम्बरको जिप चन्द्रपुर–४ स्थित धन्सार पुल नजिकको जंगलमा दुर्घटना भएको चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
जिप अनियन्त्रित भई रुखमा ठोक्किदा ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो । मृतकको सबैको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कदै गर्दा जिप सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको रहेछ,’ डीएसपी राईले भन्नुभयो, ‘घट्ना लगत्तै घाईतेको उद्धार गरी अस्पताल ल्याएका छौँ । घाईते मध्ये ८ जनाको मृत्यु भएको छ ।’
प्रहरीका अनुसार सिरहा अरनमा नगरपालिका–३ का ६० वर्षीय फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घट्नामा दुई बालबलिका सहित घाईतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
एक जनालाई थप उपचारको लागि पर्साको वीरगञ्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिनुभयो । मृतकका परिवारहरु आएपछि मात्र सनाखत हुने प्रहरीको भनाई छ । घाईतेहरु बोल्न सक्ने अवस्थामा नभएकाले सनाखतमा समस्या भएको प्रहरीको भनाई छ ।