कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुने
पुस २८, २०८१
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुने भएको छ । प्रदेश सरकारले सिफारिस गरे अनुसार प्रदेश प्रमुख परशुराम खापुङले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । चार महिनापछि कोशी प्रदेशसभाको अधिवेशन बस्न लागेको हाम्रा सहकर्मीले जनाएका छन् ।
यसअघि आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । त्यस्तै, बैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री भण्डारीको भनाइ छ ।