शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको आँखा फुट्यो

पुस २८, २०८१ | नवलपरासी

नवलपरासी पश्चिमको प्रतापपुरमा शिक्षिकाको कुटाईबाट एक बालकको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले पिट्दा यूकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीको आँखा फुटेको हो । उपचारको क्रममा देब्र आँखाले देख्न नसक्ने चिकित्सकले बताएको बालकका बुबा नरेन्द्र प्रसाद चौधरीले जानकारी दिए । ‘बालबालिका खेलेको निहुमा आँखा फुट्ने गरेर पिटेको छ । हामीले न्याय कसरी पाउने’, उनले भने, ‘एउटा आँखा फुटेको छ । अर्को आँखाले पनि राम्ररी हेर्न मिलेको छैन । दोषीलाई कारबाही र छोरालाई उपचार हुनुपर्‍यो ।’ 

विद्यालयमा दुई जना साथीहरु झगडा गरेको र छुट्टाउन खोज्दा प्लास्टिकको लठ्ठीले हान्दा आँखा फुटेको उनले बताए । घटना गत मंसिर १८ गतेको भएपनि मिलापत्र गर्न लागेको अवस्थामा बाहिर आएको हो । बालकको आखांमा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासीको आँखा अस्पताल, भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो । तर, पीडितले कानूनी प्रकृया चालेपछि विद्यालयले उपचारमा पनि चासो नदिएको पीडितको भनाई छ । 

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि विद्यालयले उपचार बापतको रकम पनि रोकेको र यसको कानूनी उपचारमा पीडित परिवार गएको राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख हरि प्रसाद ज्ञवालीले बताउनुभयो । ‘परिवार बालकको उपचारको लागि काठमाडौं गएको र त्यसपछि गाउँमा नै मिलापत्र गर्ने प्रयास गर्दा घटना बाहिर आउन ढिला भएको रहेछ’, ज्ञवालीले भन्नुभयो, ‘मानव अधिकारमा पीडितहरु आफ्नो गुनासो राख्न आएपछि अहिले सिविन नेपालको पहलमा बालकको उपचार हुने काम भईरहेको छ ।’

घटनापछि बालकका बुबा मंसिर १९ गते नै सेमरीस्थित इलाका सेमरी प्रहरी चौकीमा उजुरी दिन पुगेका थिए । तर, चौकीले यस विषयमा इलाका प्रहरी कार्यालय बर्दघाट जान सुझायो । त्यसपछि परिवार बालकको उपचारको लागि काठमाडौं आएको थियो । 

काठमाडौंबाट चिकित्सकको उपचार प्रतिवेदन पाएपछि मात्र प्रहरीले पुस १६ गते उजुरी लिएको पीडित बालकका बुबा नरेन्द्र प्रसाद चौधरीले गुनासो गरे । प्रहरीले पुस १९ गते जिल्ला अदालत परासीमा मुद्दा दायर गरी शिक्षक सन्जु चौधरीलाई पक्राउ गर्न अनुमति लिएको र उनी फरार भएकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो । 

एचके पाठशालाका प्रिन्सिपल सुजित कुमार गुप्ताले घटनामा सम्लग्न शिक्षिका सम्पर्कमा नभएको र विद्यँलयले बालकको उपचारमा सहयोग, निः शुल्क अध्ययन र रोजगारीको ग्यारेन्टी गर्ने बताउनुभयो । 


प्रतिक्रिया