बाख्रामा पीपीआर रोग पुष्टि भएपछि रिब्दीकोटमा खोप अभियान

फाल्गुन १०, २०८१ | पाल्पा

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ क्षेत्रमा पालिएका बाख्रामा पीपीआर रोग सङ्क्रमण देखिएको छ । धेरै बाख्रा बिरामी भएपछि बिरामी बाख्राको नमूना परीक्षण गर्दा पीपीआर रोग पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दुर्गा प्रसाद खनालले जानकारी दिनुभयो । 

यस स्थानबाट पशु रोग अन्वेषण प्रयोगशाला नवलपरासीमा पठाइएको नमूना परीक्षणबाट पीपीआर संक्रमण पुष्टि भएको हो । पीपीआर रोगबाट अहिलेसम्म ३ सय बढी बाख्रा बिरामी परेको छ भने १५ वटा बाख्रा मरेको केन्द्रका प्रमुख खनालले जानकारी दिनुभयो ।

बाख्रामा पीपीआर रोगको जोखिम बढेसँगै अहिले यस क्षेत्रका बाख्राको उपचार सुरु गरिएको विज्ञ केन्द्रले जानकारी दिएको छ । विज्ञ केन्द्रले १ सय ५० बाख्रालाई आवश्यक उपचार गरी निको हुने चरणमा रहेको र अन्य बाख्राहरुलाई पनि उपचार भइरहेको छ । 

आवश्यक १ हजार ५ सय खोप लगाइरहेको छ भने थप १ हजार ५ सय डोज भ्याक्सिन आवश्यक पर्ने केन्द्रका प्रमुख खनालले बताउनुभयो । सङ्क्रमण फैलिएकाले सामूहिक रूपमा बाख्राको चरिचरन नगर्न विज्ञ केन्द्रले किसानहरूलाई अनुरोध गरेको छ । 

रोग देखिनासाथ विज्ञ केन्द्र पाल्पा र रिब्दीकोटको संयुक्त टोली परिचालन भएको छ । थप १५ हजार डोज भ्याक्सिन आवश्यक पर्ने देखिएकोले पोखराबाट ल्याउनका लागि आवश्यक समन्वय भइरहेको खनालले बताउनुभयो ।

रिबदीकोट गाउँपालिकाकै वडा नम्बर-४ भैरवस्थानमा पीपीआरको लक्षण भएका बिरामी भएका ५० बाख्राको रोग एकिनको लागि टेष्ट किटबाट नमूना संकलन गरिएको छ । 


प्रतिक्रिया